उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्न अखिल नेपाल किसान महासंघ पनौतीको माग
अखिल नेपाल किसान महासंघ पनौती नगर कमिटीले उत्पादनका आधारमा अनुदानको व्यवस्था मिलाउन माग गरेको छ । आज पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा र कृषि शाखालाई ध्यानाकर्षण पत्र वुझाउँदै उक्त माग गरिएको हो ।
अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुर हुमागाँई, पनौती नगर कमिटी अध्यक्ष सन्तोष राउत, धिरज काफ्ले, अहिल नेपाल महिला संघ पनौतीकी शुशिला सुवाल, मिना थापा लगायत किसानहरुको टोलीले आज नगर प्रमुख र उप–प्रमुखको ध्यानाकर्षण गराएको छ ।
नगर कमिटीले तत्काल किसान परिचयपत्र लागु गरी उपयुक्त कार्य विधि तथा मापदण्ड तयार गरी कृषि तथा पशुपालनमा संलग्न किसानहरुलाई पेशाबाट विमुख नतुल्याउन उचित अनुदानको व्यवस्था गर्न माग गरेको अखिल नेपाल किसान महासंघ पनौती नगर कमिटी अध्यक्ष सन्तोषकुमार राउतले बताए ।
उचित मुल्यको अभावमा कृषि पशुपालन व्यवसायमा संलग्न किसानहरु निराश भएर पलायन हुने अवस्था पैदा भएको किसानको गुनासो छ । समयमै बिउविजन, रासायनिक मल, कृषि यान्त्रिकरणको व्यवस्थ ागर्न पनि उनीहरुले माग गरेका छन । यस्तै सिँचाइएको अभाव, जंगली जनावरको अतिक्रमणको मारमा किसान परेको उनीहरुको भनाई थियो । उव्जाउ भूमिको बढ्दो प्लटिङले पनि कृषियोग्य भूमिलाई संकुचन गर्दै लगेको किसान महासंघ पनौती नगर कमिटीको ठहर छ ।
पनौती नगरपालिका किसानमैत्री रहेको सन्देश प्रवाह गर्दै किसानहरुको घाउमा मल्हमपट्टी लगाउन किसान परिचयपत्रको व्यवस्था, उत्पादनको आधारमा अनुदान, समयमै बिउविजनको उपलब्धता लगायतका वियायमा ध्यान दिन किसानको अनुरोध । किसानको माग सम्बोधन नभए चरणवद्ध आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।






