पशुपतिनाथमा हरितालिका तीजको तयारी पूरा

काठमाण्डौ/ पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महादेव पशुपतिनाथको मन्दिरमा भोलि लाखौं भक्तजन जाने गर्छन, भोलिको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले तीजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भोलि अत्यधिक भीड हुने भएकाले सकभर गरगहना नलगाउन र साना बालबच्चा नलिइकन पशुपति आउन उनले आग्रह गरेको छ ।

यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथ आउने दर्शनार्थीहरूका लागि कोषले चार ठाउँबाट लाइनको व्यवस्था गरेको छ ।

दर्शनार्थीहरूले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली ठाउँ र गुह्येश्वरी पारिको खाली ठाउँमा दर्शनार्थीहरूको गाडी पार्किङ गर्ने व्यवस्था मिलाएको छ ।