धुलिखेल अस्पतालमा बार्षिक ५ लाख विरामीको उपचार

धुलिखेल/धुलिखेलका स्थानीय समुदायहरुको विशेष सहयोग, समन्वय र ब्यवस्थापनमा संचालन भएको धुलिखेल अस्पतालको विगत, वर्तमान र भविश्यका सन्दर्भमा अस्पतालले स्थानीय समुदायसँग छलफल गरेको छ । अस्पतालका संस्थापक डा.रामकण्ठको परिकल्पना अनुसार निर्माण गरिएको अस्पताललाई धुलिखेल नगरपालिका, स्थानीय जनसमुदाय र विभिन्न क्षेत्रको सहयोग रहँदै आएको छ ।


२७ वर्षको अवधीमा ५ सय शैयाको अस्पतालमा बार्षिक ५ लाख भन्दा धेरै विरामीले सेवा प्राप्त गर्न थालेका छन् । २० हजार भन्दा धेरै विरामीको अप्रेसन सहितको उपचार हुने गरेको छ । करिव २ हजार ब्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । बार्षिक साढे २ अर्बको बजेट कारोवार हुने गरेको छ । अस्पतालले काभ्रेपलाञ्चोकको अलावा उपत्यकाका तीन जिल्ला, छिमेकी जिल्ला र विपी राजमार्ग हुँदै आउन सहज जिल्ला तथा छिमेकी देश भारतका नागरिकहरुहरुलाई समेत सहज, सरल र गुणस्तरीय विशेषज्ञ सहितको सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा विरामीलाई स्वस्थ खाना, खाजा सहितको सेवा, विरामी कुरुवालाई आवास, विरामीहरुलाई निशुल्क यातायातको सेवा समेत उपलब्ध गराउन थालेको अस्पतालले दैनिक १ हजार ८ सय देखि २ हजारसम्मका विरामीहरुको उपचारमा सहजता ल्याउन टिकट काउन्टर, शुल्क भुक्तानी, औषधीको उपलब्धता सहितको सेवा हरेक तल्ला र सेवा अनुकुलका स्थानबाट नै उपलब्ध गराउने गरी ब्यवस्थापन गरेको छ ।

उपचार क्षेत्रमा समेत नमुना र विशेषज्ञता सहित फरक फरक प्रविधि, गुणस्तरीय ल्याव सहितका सेवाहरु उपलब्ध गराएको धुलिखेल अस्पतालले टेलिमिडिसिन सेवा, घरघरमा पुगेर उपचार सेवा, साउथ कोरियामा परामर्श सेवा, जापान सरकारको सहयोगमा ट्रमा सेन्टरको निर्माण, मुटुमा पेशमेकर राख्ने सहितको उपचार सेवा, खुँडे तथा तालु काटेकाहरुको उपचार, दाँतको विशेषज्ञ सेवा, नाक, कान घाँटीको उपचारमा प्रविधि, पत्थरीको उपचार लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

अस्पताल र विश्वविद्यालयको सम्वन्ध उचाईमा पुर्याउन, अलग अलग उदेश्य अनुसारका संस्थाहरुलाई अझै उन्नत र गुणस्तरीय बनाउन, सहकार्य, समन्वयका साथ फरक फरक उदेश्यलाई अझै प्रभावकारी बनाउन पहल भईरहेको अस्पतालका प्रशासकीय प्रमुख डा.विराज कर्माचार्यले बताए । सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउन अस्पतालले निरन्तर पहल गरिरहेको उनले बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलका स्थानीयहरुको सक्रिय सहभागिता रहेको बताउँदै एकतामा शक्ति हुने भएकाले धुलिखेलबासीहरु एक हुनुको विकल्प नभएको बताए । धुलिखेल नेवार संस्कृति, ब्यापार र समुदायको चिनारीबाट आज विश्वब्यापी रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, गुणस्तरीय सेवा लगायतका क्षेत्रमा पहिचान बनाएको बताए ।

दिगो विकास लक्ष्यका सुचक, शुन्य कार्वन उत्सर्जन, स्वस्थ शहर लगायतका कार्यक्रममा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले धुलिखेलबासीहरुले कर तिरेर स्थापना गरेको अस्पताल र विश्वविद्यालयको गुणस्तरीय सेवा र स्थायीत्वका लागि प्रयत्न र पहल गर्ने बताए । सरकारले गठन गरेको सहजिकरण समितिले उक्त कार्य प्रारम्भ गरेको नगर प्रमुख ब्याञ्जुले बताए ।
कार्यक्रममा अस्पतालका संस्थापक डा.रामकण्ठ माकजुले अस्पताल स्थापनाको प्रारुप, उदेश्य, सेवा र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । धुलिखेल अस्पतालले धुलिखेलका अलावा १८ वटा आउटरिच सेन्टरहरु स्थापना गरी सेवा उपलब्ध गराएको छ । कार्यक्रममा संस्थापक डा.राजेन्द्र कोँजुले अस्पतालका शुरुवाती अवस्था, भुकम्प, कोरोना लगायतका महामारीमा उपलब्ध गराएको सेवा र मुटुको उपचारलाई प्रभावकारी बनाईएको बताए ।

कार्यक्रममा अस्पतालका स्त्रि रोग विशेषज्ञ डा.आभा श्रेष्ठ, डा.बलराम मल्ल, धुलिखेल ईङ्गललिस स्कुलका प्रिन्सिपल अनमोल माकजु तथा वडा अध्यक्षहरु, धुलिखेलमा रहेर विभिन्न संघ संस्थामा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो । धुलिखेल अस्पतालको गुणस्तरीय सेवा विस्तारमा स्थानीयहरुको विगतमा जस्तै सहभागिता र समन्वय रहने प्रतिवद्धता ब्यक्त गरिएको छ ।