मौसम पूर्वानुमान: देशका धेरै ठाउँमा वर्षा
हाल देशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति पाल्पाको जाल्पा, कुमलगाउँ, गन्डाकोट, र आसपासमा भारी वर्षा मापन भएको छ । यसैगरी कपिलवस्तु, रुपन्देही, प्युठानमा पनि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
यस्तै, कैलालीको टिकापुर, बलिया, बचिला क्षेत्रमा पनि भारी वर्षा भएको छ । बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
यी क्षेत्र भई बहने नदी तथा खोलामा बाढी र होचा भेगमा डुबानको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति
बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।