ममताका आमा र दाइ पहिलोपटक अदालतमा, कुनै प्रमाण फेला नपरेको प्रहरीको भनाई
![mamata-husband-court-mummy-brother](https://www.madanibeat.com/wp-content/uploads/2024/09/mamata-husband-court-mummy-brother.jpg)
अमेरिकामा हराएकी नेपाली चेली ममता भट्टको मुद्दामा हिजो भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा लगिएको हो ।
प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइमा पहिलोपटक ममताकी आमा र भाइ पनि उपस्थित भएका थिए । उनीहरूकै आँखाअगाडि प्रहरीले ज्वाइँ नरेशलाई हत्कडी लगाएर इजलासमा ल्याए । तर, ‘इन्टरप्रिटर’ को अभावका कारण सुनुवाइमा विलम्ब भयो । बाक्लो संख्यामा रहेका नेपालीहरूले हल्लाखल्ला गरेपछि सेक्यूरिटीले चेतावनी दिनु परेको थियो ।
न्यायाधीशले सुनुवाइ प्रक्रिया सुरू गरेपछि इन्टरप्रिटरको खोजी भयो । नरेश भट्टका वकिलहरूले इन्टरप्रिटर नभेटिएको बताए । सरकारी वकिलले भर्जिनियाको अदालती प्रणालीमा नै २–३ जनामात्रै इन्टरप्रिटर भएकाले पाउन गाह्रो हुने भन्दै बहस सुचारु गर्न आग्रह गरे । तर, नरेशका वकिलले मानेनन् । जसोतसो एक घन्टापछि एकजना इन्टरप्रिटर झिकाएर बल्ल सुनवाइ आरम्भ भएको थियो ।
हिजोको ‘मोसन हियरिङ’ खासमा नरेशकै वकिलहरूको माग अनुसार राखिएको हो । यसअघिको सुनुवाइमा अदालतले मुद्दा ग्राण्ड जुरीमा पठाउने निर्णय लिएका थिए । उक्त निर्णय खारेजीको माग गर्दै नरेशका वकिलले स्पिडी ट्रायलमा लैजान न्यायाधीशलाई दबाब दिए । स्पिडी ट्रायलमा लैजाँदा मुद्दाको अभियोजन ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । अन्यथा मुद्दा लाग्दैन ।
अहिले नरेशविरुद्ध शव लुकाएकोमात्रै अभियोग लगाइएको छ । हत्या अभियोग छैन । आफैंले हत्या गरेको ठोस प्रमाण नभेटिएकाले प्रहरी हत्यारा भन्न नसकेको हो । मुद्दालाई जति छिटो प्रक्रियामा लग्यो, प्रहरी उति दबाबमा पर्ने नरेशका वकिलहरूको बुझाइ छ । यदि प्रहरीले हत्याको प्रमाण नभेटेमा शव लुकाएको मुद्दामात्र लाग्ने र सामान्य सजाय हुन सक्ने भएकाले उनीहरूले स्पिडी ट्रायलका लागि दबाब दिएका हुन् । उनीहरूको अहिलेसम्म ममताको शव नै नभेटिएको हुँदा अभियोग पुष्टि हुने आधारभूत प्रमाणसमेत प्रहरीसँग नभएको तर्क गरेका थिए ।
यसअघिको मोसन हियरिङमा जस्तै हिजो पनि न्यायाधीशले नरेशका वकिलको माग स्वीकार गरे । जसअनुसार मुद्दा ग्राण्ड जुरीको साटो स्पिडी ट्रायलमा जाने भएको छ । तर, ट्रायल कहिले सुरू हुने भन्ने निधो भएको छैन । नरेशका वकिलहरू छिटो छिनोफानो गर्न चाहन्छन् । सरकारी वकिलहरू समय लिन चाहन्छन् । नरेशका वकिलले डिसेम्बरमा र सरकारी वकिलले जनवरी अन्तिम वा फेब्रुअरीमा ट्रयल राख्न माग गरेका थिए । न्यायाधीशले कुनै निर्णय दिन नसकेको न्यूज डब्लुयुएसएले जनाएको छ । समाचारमा जनाइएअनुसार सम्भवतस् फेरि अर्को मोसन हियरिङ हुन सक्छ ।
ममताको शव खोजेको खोज्यै प्रहरी
अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बसोबास गर्ने २८ बर्षिय स्वास्थ्य परिचारिका ममता काफ्लेलाई प्रहरीले अझै पनि फेला पार्न सकेको छ । गत अगस्त १ देखि बेपत्ता भएको ममता काफ्लेका पति नरेश भट्टलाई शव लुकाएको भन्दै प्रहरीले हिरासतमा लिएको छ ।
उनलाई हत्याको अभियोग लगाईएता पनि मनासस पार्क प्रहरी विभागले उनको शव फेला पार्न सकेको छैन । प्रहरीहरु ममता काफ्लेको घरमा अगस्त २ मा गएर पति नरेश भट्टलाई भेट्दा उनि जुलाई ३१ सम्म घरमै रहेको भट्टले प्रहरीलाई बताएका थिए । हाल नरेश भट्ट हिरासतमा छन् भने हिजो उनि अदालतमा उपस्थित भएका थिए । अदालतले द्रुत सुनुवाई गर्ने आदेश दिएको छ । आज सेप्टेम्बर ५ बिहिबार प्रेस विज्ञप्ति मार्फत मनासस पार्क प्रहरी विभागले ममता काफ्ले बेपत्ताको बारेमा सक्रिय रूपमा अनुसन्धान जारी राखेको छापा बिज्ञप्तिमा जनाएको छ । प्रहरी विभागका प्रमुख मारियो लुगोले उक्त छापा बिज्ञप्ती जारी गरेका हुन् ।
प्रिन्स विलियम काउन्टी प्रहरी विभाग खोज र उद्धार टोलीको सहयोगमा बिभिन्न क्षेत्रहरूको खोजी गरिरहेका छौं भन्दै बिभिन्न स्थानहरुको नामावली समेत प्रकाशित गरेको छ ।
अनुसन्धानसँग सम्बन्धित प्रमाणहरूको लागि ब्लूम क्रसिङ समुदाय वरपरको क्षेत्र ,मनासस क्रिश्चियन स्कूल, क्याम्प क्यारोन्डेलेट, र ब्लूम्स पार्कको एक भाग समेतमा खोज अनुसन्धान गरि रहेको बिज्ञप्तिमा जनाइएको छ ।
मनासस पार्क प्रहरी बिभागका अनुसार उनीहरुका जासूसहरूले हालसालै प्राप्त गरेका अभिलेख (रेकर्ड) हरूको विधिगत समीक्षा मार्फत ती क्षेत्रहरूलाई चासोको स्थानको रूपमा विकास गरेको उल्लेख गरेको छ ।
साथै विभागले समुदायलाई हामीसँग धैर्य धारण गर्न र खोज टोलीहरूलाई खोजी गर्न अनुमति दिन अनुरोध समेत गरेको छ । यस समयमा कुनै थप सहयोग अनुरोध आवश्यक नभएको जनाएको छ । यस समयमा सम्म कुनै प्रमाण फेला नपरेको समेत जनाएको छ ।
कसैलाई ममता काफ्लेको बारेमा यस मुद्दासँग सम्बन्धित जानकारी थाहा भएमा मनसास पार्क प्रहरी विभाग ७०३– ३६१– ११३६ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ । आफ्नो नाम दिन नचाहेमा अज्ञात वा बेनामी रुपमा प्रहरीलाई Manassas City/Manassas Park Crime Solvers, 703-330-0330 वा manassascrimesolvers.org मा समेत सम्पर्क गर्न सकिने छापा बिज्ञप्तिमा जनाएको छ ।