एकीकृत समाजवादीका दर्जनौं नेता एमालेमै फर्कने तयारी
एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका दर्जनौं नेता एमालेमै फर्कने तयारीमा लागेका छन् । समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीसहितका नेताहरु एमाले फर्कने तयारीमा लागेका हुन् । पछिल्लो समय झाँक्रीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै आइरहेकी छन् ।
२०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि ओलीप्रति निकै आक्रामक माधवकुमार नेपालसहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी बनाएका थिए । एकीकृत समाजवादी गठनमा झाँक्रीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन् । एकीकृत समाजवादीमा उनको मनमुटाव बढ्दै गएको छ । उनी एमालेमा फर्कने तयारी भइरहेको र एमालेबाट ‘ग्रिन सिग्नल’ पाएरै झाँक्री ओलीको पक्षमा खुलेर बोलेको स्रोतहरूको भनाइ छ । उनले एकीकृत समाजवादीका केही नेतासँग यसबारे कुरा गरिरहेकी छन् ।
पछिल्लोपटक सांसद किसान श्रेष्ठ र झाँक्रीले ओलीसँग भेट गरेका थिए । भेटमा समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई लिन ओली तयार रहेको बताएको स्रोतले जनाएको छ । झाँक्री र श्रेष्ठसहित पाँच सांसदहरू नै एमालेमा आउने कुरा भइरहेको बालुवाटार स्रोतले जनाएको छ । एकीकृत समाजवादीभित्र पदाधिकारी छान्न निर्वाचन गर्दा चिर्कटो वितरण गरेर हराइएकोमा झाँक्री लगायतका केही नेता असन्तुष्ट छन् ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार एकपटक विभाजन भएको पार्टी पाँच वर्षसम्म फुट्न मिल्दैन । एमालेबाट २०७८ भदौ ९ गते विभाजन भएको एकीकृत समाजवादी अझै २०८३ भदौसम्म विभाजन गर्न नमिल्नुपर्ने हो । सासदहरुे पार्टी छाडे उनीहरुको पद जाने पनि देखिएको छ । तर, निर्वाचन आयोग र सभामुखले यसबारे सहजीकरण गरिदिनसक्ने आश्वासन उनीहरूले पाएका छन् ।
एकीकृत समाजवादीको खुल्ला उपाध्यक्ष उठेर पराजित भएका केशवलाल श्रेष्ठले कानुन हेरेर बस्ने पक्षमा कतिपय नेताहरु नरहेको भन्दै एमालेमा फर्कने संकेत गरेका छन् । यद्यपि समाजवादीका सांसद र एमाले नेतृत्वले यसबारे कानुनी परामर्शहरु पनि गरिरहेको बताइएको छ ।