गणेश चतुर्थीको अवसरमा पनौती गोरखनाथ स्थित आकाशविनायकमा विशेष पूजा

पनौती नगरपालिका वडा नम्बर–६ गोरखनाथ स्थित आकाशविनायकमा भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । आकाशविनायकमा विहानैदेखी पूजा तथा प्रसाद ग्रहणको कार्यक्रम जारी छ भने साँझ ५ः३० बजे आरती हुँदैछ । आकाशविनायक संरक्षण समितिको आयोजनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो । आज विहानैदेखि सुरु भएको विशेष पूजा साँझसम्म जारी रहने आकाशविनायक संरक्षण समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार आज विहान एक औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भिमप्रसाद आचार्य, भागवत धर्म संरक्षण समितिका संरक्षक अच्युतपूसाद भट्टराई, पण्डित हरिहर सुवेदी, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, गोरखनाथ सचिवन वन उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले साँस्कृतिक सहरका रुपमा समेत परिचित पनौतीको धार्मिक, सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाससँगै लैजाने गरी योजना बनाएको बताएका छन् । साँस्कृतिक सम्पदाको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

आकाशविनायक संरक्षण समितिका अध्यक्ष राम कुमार बस्नेतले गोरखनाथ क्षेत्रको विकासका लागि काम गरिरहेको बताए । पञ्चधातुबाट निर्मित ९ फिट अग्लो आकाशविनायक, कार्यविनायक, कुमार, रिद्धि, सिद्धि, नाटेश्वर महादेव सहित कलात्मक ढुंगे धारा, प्रतिक्षालय सहित आकर्षक बगै्रचा सहितको प्रा्रगण निर्माण गरिएको जानकारी दिएका छन ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित रकम, विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले नै सबै सम्भव भएको उनको भनाई थियो । यसैबिच आकाशविनायक संरक्षण समितिको अध्यक्षमा पुनः राम कुमार बस्नेत चयन भएका छन् । आज सम्पन्न साधारण सभाले अध्यक्ष बस्नेत सहित १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा मोहन कुमार बस्नेत, उपाध्यक्षमा दामोदर बस्नेत, सरला बस्नेत, महासचिवमा हरिशरण कार्की, सचिवमा बद्री बस्नेत, सह–सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कुमार बोगटी चयन भएका छन् । आज नै मन्दिर प्रांगणमा नेपालको झण्डोत्तोलन समेत गरिएको छ ।