उग्रतारा सहकारीको २१ औं साधारणसभा, ज्येष्ठ सदस्यलाई नगद सहित सम्मान
बनेपा/ उग्रतारा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी शाक्यले बनेपा नगर सहकारीका कारण बदनाम हुदै गएको समयमा पनि उग्रतारा सहकारीले बनेपाको ईज्जत जोगाई सदस्यहरुको मन जित्न सफल भएको भन्दै धन्यबाद दिएका थिए ।
नगरपालिकाले नगरबासीहरुका लागी स्वास्थ्य, शिक्षा, पुर्वाधार, खानेपानी लगाएतका क्षेत्रमा काम गर्दे आएको उनले बताए । स्वास्थ्य तर्फ १ सय १२ जना जेष्ठ नागरिकहरुको निशुल्क पुर्णरुपमा दाँत राखिएको, २३ हजार ८ सय १७ जनाको रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको, ६९ वटा टोलमा स्वास्थ्य शिबिर सञ्चालन गरि २ हजार ५ सय नागरिकको स्वास्थ्य परिक्षण गरिएको, छिट्टै सुगर विशेष अस्पताल सञ्चालन गरिने लगाएतका कार्यहरु गर्दे आएको उनले जानकारी दिए ।
सहकारीहरु ऐन निति र विनियम अन्र्तगत सञ्चालनमा रहेका कुनैपनि सहकारीमा समस्या नआएको शाक्यले बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिब दियशरत्न शाक्यले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक शान्तिराज कायस्थले सभामा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पुँजी ६ करोड ७२ लाख ५३ हजार, निक्षेप ८३ करोड ८५ लाख ५४ हजार, ऋण लगानी ६८ करोड ३२ लाख ९ हजार र खुद नाफा २ करोड १ लाख रहेको छ । कार्यक्रममा ८० वर्ष नाघेका ३० जना जेष्ठ सदस्यलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो भने उत्कृष्ट बचत कर्ता, ऋणी, र शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले राखेका थिए भने सभापतित्व संस्थाका अध्यक्ष पुर्ण प्रसाद पलाञ्चोकेले गरेका थिए । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य दिव्यश्वरी लाखे पोटेले गरेकी थिईन् ।






