धुलिखेल–खावा सडकमा संसदीय समितिको अनुगमनः स्थानीयले भने–आश्वासन धेरै भयो, काम हुनुपर्यो

संसद्को पुर्वाधार विकास समितिले निर्माणाधीन धुलिखेल–खावा सडकको अनुगमन गरेको छ । पुर्वाधार विकास समितिका सदस्यहरु ठाकुरप्रसाद गैरे, माधव सापकोटा, विना लामा, शंकर भण्डारी, सुशिला श्रेष्ठ लगायतले अलपत्र सडकको बारेमा सरोकारवाला सहित स्थानीयसँग अन्तरक्रिया गरेका छन ।
छलफलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खर्ल, वडा अध्यक्षहरु, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, निर्माण व्यवसयाीको तर्फबाट भरत थापा लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीयले पटक पटक आश्वासन पाए पनि सडकको अवस्था भने उस्तै रहेको भन्दै आक्रोश पोखेका छन । धुलो, धँवाले स्वास्थ्यमा असर गरेको, बाटो कै कारण बालबालिका विद्यालय जान नपाएको, जोखिमपुर्ण सडकको यात्रा कष्टकर भएको स्थानीयको गुनासो छ ।
सांसद शंकर भण्डारीले जनताले लामो समयदेखि दैनिक झेल्नुपरेको दुःखलाई व्यक्त गरेको बताए । यो विषयमा समितिमा गम्भिरतापुर्वक छलफल गरेर आवश्यक निर्णय लिने भण्डारीले प्रतिवद्धता जनाएका छन । जनताको पीडा, वेदना र आक्रोश वुझेरै वास्तविक अवस्था थाहा पाउन अनुगमनमा निस्किएको उनको भनाई थियो । द्रुत गतिमा निर्माण कार्य अघि बढाउन आग्रह गर्दै सांसद भण्डारीले प्राविधिक, कानुनी र व्यवस्थापकिय पक्षमा जुनसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका छन । उनले सडकका कारण मानव वस्ती, सार्वजनिक संरचनामा कुनै जोखिम भए–नभएको एकिन गरी ७ दिनभित्र विभाग मार्फत विवरण मन्त्रालयमा पठाउन भनेका छन ।
सांसद ठाकुर गैरेले जनताको आवाजलाई समेटेर नै समितिले निर्णय गर्ने आश्वासन दिएका छन् । अहिलेको प्रकृया हेर्दा थपिएको समय अर्थात कार्तिक मसान्तसम्म पनि काम सम्पन्न हुने अवस्था नरहेको भन्दै सांसद गैरेले नयाँ प्रकृयामा जानुको विकल्प नरहेको बताएका छन । तत्काललाई सहज रुपमा आवतजावतका लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु पर्नेमा उनको जोड थियो ।
सांसद माधव सापकोटाले यो निर्माण कम्पनीले काम गर्न सक्दैन भन्ने निष्कर्ष सहित नयाँ व्यवस्था तत्काल गर्ने, नयाँ निर्माण कम्पनी नआएसम्म सडक विभागले नै हेर्ने भनिएकोमा त्यो किन हुन सकेन ? भन्दै प्रश्न गरेका छन् । ठेक्का खारेज गरेर नयाँ विकल्पमा जानु नै उपयुक्त हुने उनको धारणा छ । अरु गफ गर्नु भनेको झमेला थप्नु मात्रै भएको उनको भनाई थियो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तुरुन्तै पुर्ण रुपमा बाटो निर्माण सम्पन्न हुन नसकेपनि सहज रुपले आवतजावत गर्न सक्नेगरी स्तरोन्तीका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।
जिल्ला प्रहरी प्रमुख वसुन्धुरा खड्काले वरिष्ठ सईको कमाण्डमा धुलिखेल–खावा सडकमा प्रहरी परिचालन भएको जानकारी दिइन् । धुलिखेल–खावा सडकमा खटिने प्रहरी मुस्किसलले ४ घण्टा मात्रै सुत्न पाउने भन्दै एसपी खड्काले बाँकी समय सडकमै बित्ने गरेको बताइन् । उनले भनिन्, ‘सिठ्ठी फुक्नु पर्ने ट्राफिकले बेल्चा बोक्छ, लाठी बोक्नुपर्ने ट्राफिकले सावेल बोक्छ ।’
अन्यत्र जिल्ला सहित छिमेकी देश चीननसम्म जोडिने भएकाले पनि यात्रुवाहक गाडी, मालवाहक ट्रक कन्टेनरको सुरक्षित आवागमन कठिन बनेको बताइन् । ४ किलोमिटर सडकको दुर्दशाले सिंगो काभ्रे जिल्लाको सुरक्षा प्रणालीमै चुनौती थपिएको उनको भनाई छ । १ प्रहरीले ६ सय नागरिकलाई हेर्नुपर्ने परिस्थितीमा ४० जना प्रहरी बाटो व्यवस््थापनमै लाग्नु परेको उनको गुनासो छ । नागरिकको लागि खटिनुपर्ने प्रहरी त्यसमा पनि एउटा राजमार्गको ४ किलोमिटरमा मात्रै केन्द्रित बन्नु परेको एसपी खड्काले बताइन् । एसईई दिने विद्यार्थी समयमा परिक्षा केन्द्रमा पुग्न नसकेको, पाँचखालबाट बनेपा धुलिखेलमा काम गर्ने दिदिबहिनी समयमा घर नपुग्दा हिंसा सहनु परेको गुनासो आएको बताएकी छन् ।
निर्माण व्यवसायीको तर्फबाट भरत थापाले निर्माण कम्पनीको तर्फबाट कमजोरी भएको स्विकार गरेका छन् । यद्यपी निर्माण व्यवसायीले काम नै गरेनन् भन्नेमा भने सत्यता नरहेको दाबी गरे । मौसम र भौलिक रुपमा केहि कठिन भएपनि काम सम्पन्न गर्नका लागि समय तालिका नै बनाएर अघि बढ्ने गरी छलफल भएको बताए । उनले ४ किलोमिटर बाटो कालोपत्रे गर्न कम्तीमा चैत महिनासम्म लाग्ने बताएका छन ।
उक्त आयोजनाको ठेक्कका गौरी पार्वती निर्माण सेवा प्रालिले पाएको छ । २०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिको कामले गति लिएको छैन । थपिएको समय समेत कार्तिकमा सकिँदैछ ।
