स्वस्थ शहर घोषणा पछि बागमती प्रदेश सरकारका मन्त्री धुलिखेल नगरपालिकामा

धुलिखेल/विश्व स्वास्थ्य संगठनले दक्षिण एशियामा धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ शहर घोषणा गरेसँगै नेपालका तीन तहकै सरकारले चासोका रुपमा हेरेका छन् ।

बागमती प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरले धुलिखेल नगरपालिकाको स्वास्थ्य अवस्था, स्वस्थ शहर घोषणाका आधार तथा पुरा गरेको मापदण्डका बारेमा जानकारी लिएका छन् ।

मन्त्री थापा मगरले धुलिखेलले शुरु गरेको स्वस्थ शहर कार्यक्रम बागमती प्रदेशका अन्य पालिकाहरुमा पनि शुरु गरिने बताए । त्यसका लागि प्रदेश सरकारले धुलिखेल लगायतका आवश्यक पालिकाहरुलाई सहजिकरण र समन्वय गर्ने बताए । साथै प्रदेश स्तरका अस्पतालहरुमा सेवालाई प्रभावकारी र गुणस्तर बनाउन श्रोत, साधन, पूर्वाधार निर्माणमा ध्यान दिएको मन्त्री थापा मगरले बताए ।

कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई स्वस्थ शहर बनाउन धुलिखेलले विभिन्न निकायसँगको समन्वयमा आवश्यक मापदण्ड पुरा गरेको बताए । नगर प्रमुख ब्याञ्जुले धुलिखेल एशिया स्तरमा शिक्षा, स्वास्थ्य लगायतका सेवाहरुमा अब्बल बन्दै गएको बताए । आगामी दिनमा धुलिखेलले थप एशिया स्तरका विभिन्न कार्यक्रमहरु कार्यान्वनमा लगिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

कार्यक्रममा नगर उपप्रमुख निराजन जंगम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका डा.रामेश्वर गेलाल, बसन्त अधिकारी, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा.विराज श्रेष्ठ, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतले धुलिखेल नगरपालिकाको स्वस्थ शहरको अवधारणा र कार्यान्वयनका बारेमा धारणा राखेका थिए । धुलिखेलले स्वस्थ शहर घोषणा सँगै ५ हजार डलर पुरस्कार उपलब्ध गराउने जानकारी गराईएको छ ।