सरकार गठन भएको झण्डै दुई महिनापछि आज सत्तारुढ दलको बैठक बस्दै

सत्तारुढ दलको बैठक आज बस्दैछ। सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्न लागेको हो।

बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्। यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन्।

आइतबार मात्र कांग्रेस र एमालेले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन्।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।