विन नेपाल लुघ वित्तबाट पीडित महिलाहरु अदालतको आदेश पछि धरौटीमा छुटे
धुलिखेल/भुम्लु गाउँपालिका वडा नम्वर ८ मा रहेको विन नेपाल लघुवित्त वित्तिय संस्थाको कार्यालयमा फिल्ड कर्मचारी मात्रै भएको मौका छोपी आपराधिक उपद्रव गरे गराएको भन्ने अभियोगमा प्रहरीले पक्राउ गरेका ११ जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले धरौटीमा छाड्ने आदेश दिएको छ ।
पीडितहरु प्रिया खत्री, इन्द्रकुमारी खरेल, रमा चौलागाई, निलकुमारी लुईटेल, कान्छीमैया तामाङ, गोमा खत्री भन्ने देवी खत्री, भक्तबहादुर भोलन, सरु दाहाल, देवी चौलागाई, रुपा पोखरेल, हिरा शाही र कमला माझीलाई न्यायाधीश न्यौपानेको इजलासले धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकारी अधिकृत हिराकुमारी भण्डारीले जानकारी दिईन् । विन नेपाल लघुवित्त वित्तिय संस्थामा आवद्ध नभएका महिलाहरुका नाममा लघु वित्तकै कर्मचारीहरुले ऋण निकालेर चलाएका थिए । ऋण निकालेर चलाउने कर्मचारीहरुलाई कारवाही गर्नुको सट्टामा उल्टै वित्तिय संस्थाबाट महिलाहरुलाई घर घरमा ऋण तिर्न पत्र आउने गरेको थियो । सोहि विषयमा छानविन र कारवाही गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा समेत पीडितहरुले उजुरी दिएका थिए ।
कर्मचारी विकास श्रेष्ठले महिलाहरुलाई घर घरमा पुगेर खाली कागजमा सहि छाप गर्ने हो भने ऋण तिर्नु पर्दैन नभए नलिएको ऋण समेत तिर्नु पर्छ भन्दै धम्क्याउँदै आएका थिए । पटक पटक कर्मचारीहरुले लिदै नलिएको ऋण तिर्न दबाब दिए पछि सबै महिलाहरुले उनिहरुको कार्यालयमा भएका केहि सामानहरु सुरक्षित साथ जिल्ला प्रशासन कार्यालयमा बुझाउन ल्याउने क्रममा तोडफोड भएको भन्दै उल्टै प्रहरी लगाएर उनिहरुलाई पक्राउ गरिएको थियो । २०८१ भदौ ११ गते दिउसो १.३० बजे पीडितहरु विन नेपाल लघुवित्त कार्यालय पुगेर कार्यालय घेराउ गरेका थिए । उनिहरुको आवाज पटक पटक अनुरोध गर्दा पनि नसुने पछि सबै मिलेर सामान सुरक्षित साथ दबाब दिने उदेश्यले जिल्ला प्रशासन कार्यालयमा बुझाउन ल्याउने क्रममा अपराधिक उपद्रव गरेको अभियोगमा मुद्दा चलाईएको थियो ।
पीडितहरुले न्यायका लागि आवाज उठाँउदा आफै थुनिनु परेको, अन्यायमा परेकाहरुलाई न्याय दिनु भन्दा उल्टो यातना दिएको, नक्कली कागजात तयार गरी लिदै नलिएको ऋणको कागजात बनाउने कर्मचारीलाई राज्य संयन्त्रबाटै उन्मुत्ति दिने प्रयत्न गरेको बयान अदालत समक्ष दिएका छन् ।





