आज विश्व आत्महत्या रोकथाम दिवसः यस्तो छ काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्याको अवस्था

धुलिखेल/विश्वभर आत्महत्या दर बढिरहेको छ । विश्वमा आज आत्महत्या रोकथामका लागि सचेतनामुकल कार्यक्रमहरु आयोजना गरिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । धुलिखेल नगरपालिका र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

नेपालकै पहिलो स्वस्थ शहर घोषणा गरिएको धुलिखेलमा मानसिक स्वास्थ्य लगायत स्वास्थ्य नीति पारित भएको छ । उक्त कार्यक्रम मार्फत आत्महत्या न्यूनिकरणका प्रयत्न भएका छन् । धुलिखेलले उक्त कार्यक्रम लागु भए पछि उल्लेख्य रुपमा आत्महत्या दर घटाएको छ । चौरीदेउराली गाउँपालिकाले पनि उक्त कार्यक्रम मार्फत मानसिक स्वास्थ्यलाई प्रभावकारी रुपमा कार्यान्वन गरेको छ । जसका कारण मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगत घर घर विरामीहरुलाई औषधी सेवन गराईएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३७ जनाले आत्महत्या गरेका छन्। नेपालमा ६ हजार ९ सय ४८ जनाले आत्महत्या गरेका छन् । पछिल्ला ४ महिनामा काभ्रेमा आत्महत्या प्रयास गर्ने ४८ जना उपचार पछि घर फर्केका छन् । आत्महत्यामा झुण्डि आत्महत्या गर्नेको संख्या १ सय ७ छ । विष सेवन गरेर मृत्यु हुनेको संख्या २८ रहेको छ । हाम फालेर २ जनाले आत्महत्या गरेका छन् । जसमा अधिकांश युवा अवस्थाका छन् । बालबालिका देखि जेष्ठ नागरिकसम्म आत्महत्या गर्नेहरु छन् । आत्महत्याको संख्यामा उल्लेख्य बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष आर्थिक वर्ष २०७९/२०८० मा ९० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०/२०८१ मा संख्या बढेर १ सय ३७ पुगेको छ ।

आत्महत्या गर्नेहरुमा नोकरीमा हुने २५, कृषिमा हुनेहरु ७९, ब्यापारी ५, विद्यार्थी २२, अन्य ६ जनाले आत्महत्या गरेका छन् । १६ वर्ष मुनिका १९ जना, १६–२५ वर्षसम्मका २२ जना, २६–३५ वर्ष उमेर समुहका २३ जना, ३६–४५ उमेर समुहका १६ जना, ४६–६० उमेरका ३८ जना, ६० वर्ष भन्दा माथिका १९ जना छन् । त्यस्तै आईतबार २३, सोमबार १७, मंगलबार १४, बुधबार २७, विहिबार १८, शुक्रबार १८ र शनिबार २० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरु मध्ये गरिवीका कारण ४ जना, दिर्घरोगी ६ जना, प्रेममा असफल ५ जना, नैराश्यता ३५ जना, मानसिक असन्तुलन ५७ जना, घरेलु हिंसा ५ जना, अन्य २५ जना रहेका छन् ।

कुन पालिकामा कति ?
काभ्रेका १३ पालिकाहरु मध्ये सबै भन्दा धेरै बनेपा नगरपालिकामा आत्महत्या गर्नेहरुको संख्या रहेको छ । बनेपामा २९ जनाले आत्महत्या गरेका छन् । बनेपा पछि पनौती नगरपालिकामा धेरै आत्महत्या भएको दोश्रो पालिकाका रुपमा तथ्यांकले देखाएको छ । पनौतीमा एक वर्षमा २० जनाले आत्महत्या गरेका छन् । भुम्लु गाउँपालिकामा १५ जनाले आत्महत्या गरेका छन् । धुलिखेल र रोशी गाउँपालिकामा १३/१३ जनाले आत्महत्या गरेका छन् । नमोबुद्धमा १२ जनाले आत्महत्या गरेका छन् । मण्डनदेउपुरमा ११ जना, पाँचखालमा ९ जना, बेथान्चोकमा ८ जना, तेमालमा ४ जनाले आत्महत्या गरेका छन् । महाभारत, खानिखोला र चौरीदेउरालीमा १/१ जनाले आत्महत्या गरेका छन् ।