नेपाल मोबाइल व्यवसायी महासंघको २६ र २७ गते सामसुङ मोबाइल बिक्री नगर्न आग्रह

काठमाडौं /नेपाल मोबाइल व्यवसायी महासंघले देशभर सामसुड नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिविलिटी (मोबाइन डिस्प्ले) भदौ २६ गते बुधबार र २७ गते बिहीबार हटाउने र बिक्री नगर्ने निर्णय लिएका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघले मंगलबार यस्तो निर्णय गरेका हुन् । महासंघका अध्यक्ष भरत भट्टराइ र महासचिव सन्तोष घिमिरेले जारी गरेको विज्ञप्तिमा कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन कम्पनीका प्रमोटरलाई फिर्ता पठाउने उल्लेख गरिएको छ ।

महासंघका अध्यक्ष भरत भट्टराईले भने, ‘संवादको ढोका खुला राख्दै केन्द्रको आह्वानअनुसार आन्दोलनमा उत्रिएका छौँ । चार दिनको आन्दोलनसम्म पनि माग सम्बोधन नभए थप कडा कदम चाल्न बाध्य हुनेछौँ ।’

यही भदौ २० गते धनगढीमा आयोजना भएको सामसुङ रिटेल मिटमा व्यवसायी र सामसुङ नेपालबिच विवाद भएको थियो । व्यवसायीले सामसुङका सेटहरु बिक्री गर्दा आएका समस्या राख्न खोज्दा कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको आरोप लगाएका छन् । विवादपछि व्यवसायीहरु कार्यक्रम छाडेर हिडेका थिए ।

व्यवसायीहरुले सामसुङ कम्पनीले सो ब्रान्डमा मोबाइल बिक्री गर्दा बिक्रेतालाई दिने कमिसन बढाउनुपर्ने माग गरेका छन् । महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले संवादबाट समस्या सुल्झाउन पहल गरे पनि सामसुङ नेपालले बेवास्ता गरेको आरोप लगाए ।