बाल दिवसको अवसरमा पनौती–४ मा वक्तृत्वकला प्रतियोगिता
बाल दिवसको अवसर पारेर पनौती नगरपालिका वडा नम्बर ४ मा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । बाल अधिकारका बारेमा विद्यार्थीको धारणा वुझ्न तथा वर्तमान अवस्था थाहा पाउन बाल अधिकार आजको आवश्यकता शीर्षकमा प्रतियोगिता आयोजना गरिएको बालमैत्री सहजकर्ता ललिता धितालले जानकारी दिइन् ।
वडा कार्यालयको आयोजना तथा मित्रता वडा बाल सञ्जालको समन्वयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १४ जना बालबालिकाले सहभागिता जनाएका थिए । जसमध्ये बालोद्धार माध्यमिक विद्यालयकी छात्रा सन्ध्या तिमल्सिनाले प्रथम स्थान हासिल गरेकी छिन् । यस्तै काभ्रे अंग्रेजी मावि की स्मृति तिमल्सिना द्धितीय स्थान हासिल गर्न सफल भएकी छन् भने अरुणोदय माविकी शिरिषा हुमागाँई तृतीय भएकी छन् ।
कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य एवं बालमैत्री संपर्क व्यक्ति राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, बालमैत्री सहजकर्ता ललिता धिताल, नगर बाल सञ्जाल अध्यक्ष एन्जला खत्री, मित्रता वडा बाल सञ्जाल अध्यक्ष कुसुम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर सबैभन्दा धेरै लगानी गरिरहेको बताइन् । बालबालिकामा व्यक्तित्व विकास, क्षमता विकास लगायतको परिवर्तनले नगरपालिकाको लगानी ठीक ठाउँमा रहेको पुष्टि गर्ने उनको भनाई थियो । यस्तै उपप्रमुख बञ्जाराले बालबालिकालाई किताबी ज्ञानसँगै सामाजिक, राजनीतिक विषयमा पनि जानकारी राख्न आग्रह गरेकी छन् । सामाजिकीकरण हुन जरुरी रहेको उनको भनाई थियो ।
वडा अध्यक्ष दिपकप्रसाद दाहालले नेपाली भाषा, संस्कृतिको संरक्षणमा विद्यालय, शिक्षक र विद्यार्थीको ठुलो भूमिका रहने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन ।
कार्यक्रममा नगर बाल सञ्जाल अध्यक्ष एन्जला खत्रीले अतिरिक्त क्रियाकलापले आत्मविश्वास, क्षमता विकास र सीप बढाउँदै लैजाने बतान् । आगामी दिनमा पनि बालबालिकाको प्रतिभा प्रस्फुटन हुने कार्यक्रम आयोजना गर्न उनको अनुरोध छ । राम्रो बोल्नु कला मात्रै नभई सबैले आर्जन गर्नुपर्ने सीप भएको उनको भनाई थियो ।
वडा बाल सञ्जाल अध्यक्ष कुसुम तिमल्सिनाले प्रतियोगिता भनेको प्रतिस्पर्धा मात्र नभई सिकाई र आत्मविश्वासको अवसर भएको बताइन् ।
कार्यक्रमा बालोद्धार माविको शिक्षक सिता दाहाल र काभ्रे अंग्रेजी माविका शिक्षक सुदन बञ्जारा निर्णायकको भूमिकामा थिए । मित्रता वडा बाल सञ्जालकी सह–सचिव दिनिसा तिमल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।