'सामाजिक सञ्जाल वरदान की अभिशाप' शीर्षकमा पनौती–२ मा वादविवाद प्रतियोगिता

बाल दिवसको अवसर पारेर पनौती नगरपालिका वडा नम्बर २ ले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । सामाजिक सञ्जाल वरदान की अभिशाप शीर्षकमा आयोजित प्रतियोगितामा १५ जना बालबालिकाले भाग लिएका थिए ।

पनौती नगरपालिका वडा नम्बर २ को आयोजना तथा प्रगतिशिल वडा बाल सञ्जालको समन्वयमा भएको प्रतियोगितामा इभाना सापकोटा प्रथम भएकी छन् । यस्तै मेरिना दाहाल द्धितीय, कृपा ढुंगाना तृतीय, पुजा आचार्य चौंथो र रितिका बजगाँई पाँचौं स्थान हासिल गर्न सफल भएका छन् ।

सामाजिक सञ्जालको सकारात्मक पक्ष अवलम्बन गर्दै गलत कुराबाट बच्न वादविवाद प्रतियोगिता प्रभावकारी बन्ने वडा कार्यालयको विश्वास छ । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यपालिका सदस्य सुनिता वि.क, वडा सदस्य सिता थापा, वडा सचिव परशुराम बञ्जारा, स्वास्थ्य चौकी प्रमुख उमा तामाङ, कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल, सहकायक प्रधानाध्यापक इश्वरी थापा, फुल्चोकी आधारभुत विद्यालयकी शिक्षक अम्बिका आचार्य, वडा बाल सञ्जालकी पुर्व अध्यक्ष मनिका हुमागाँई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक सञ्जालको बढ्दो परनिर्भरता घटाउँदै किताब, पत्रपत्रिका अध्ययनमा पनि ध्यान दिन आग्रह गरेका छन् । सामाजिक सञ्जालका राम्रा पक्ष मात्रै अनुशरण गर्न उनको अनुरोध छ ।

प्रतियोगितामा शिक्षक मनोज अधिकारी र शालिकराम हसमागाँई निर्णायकको भूमिकामा थिए । बालबालिकाहरुले सामाजिक सञ्जालको सकारात्मक पक्ष र नकारातम पक्षबारे आफ्नो धारणा राखेका थिए । बालमैत्री सहजकर्ता सरस्वती आचार्यले सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि प्रतियोगिता सहयोगी हुने बताइन् । 

प्रगतिशिल वडा बाल सञ्जालका अध्यक्ष रिदम थापाको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव समिर हुमागाँईले गरेका थिए भने स्वागत मन्तव्य सविना हुमागाँईले राखेकी थिइन् ।