सिद्धार्थ बाल गृहले गर्‍यो सामाजिक परिक्षण

धुलिखेल/सिद्धार्थ बाल गृह संस्थाद्वारा संचालित सिद्धार्थ बाल गृहले आर्थिक वर्ष २०८०÷२०८१ मा भएका आर्थिक, सामाजिक तथा अन्य गतिविधिका बारेमा सामाजिक परिक्षण गरेको छ ।

नगरपालिका उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले गरेका गतिविधिहरुले सामाजिक क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी गराईएको थियो ।

अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य लक्ष्मी प्रजापतीले सामाजिक परिक्षणमा देखिएका विषयहरु जानकारी गराएकी थिईन् । सिद्धार्थ बाल गृह औपचारिक रुपमा २०६८ सालमा जिल्ला प्रशासन कार्यालयमा धुलिखेल नगरपालिका वडा नम्वर ६ स्थित कोरखेलमा दर्ता भएको थियो ।

३३ वर्ष देखि निरन्तर नर्सिङ्ग तथा विभिन्न पेशामा आवद्ध ब्यक्तिहरुको सक्रियतामा गठित सिद्धार्थ बाल गृहबाट २३ जना बालबालिकाहरु अन्यत्र पुर्नस्थापना भईसकेका छन् । हाल २६ जना बालबालिकाहरु सिद्धार्थ बालगृहमा रहेका छन् । जसमा १६ बालिका र १० बालक छन् । ९ जना १० वर्ष भन्दा कम उमेर समुहका छन् । १३ जना ११ देखि १५ वर्ष उमेर समुहका छन् । ४ जना १६ देखि १८ वर्ष उमेर समुहका छन् । काभ्रेपलाञ्चोक, सिन्धुृपाल्चोक, दोलखा, इलाम, रुकुम लगायतका जिल्लाका बालबालिकाहरु रहेका छन ।

संस्थाले बालबालिकाहरुका लागि आवश्यक पर्ने सबै पूर्वाधार, सुरक्षा तथा उनिहरुको बृत्ति विकासका लागि भएका गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो । संस्थालाई जमर्नबाट ७९ लाख ४१ हजार ७ सय ८१ रुपैया सहयोग गरेको थियो । अन्य शिर्षकबाट समेत गरी बार्षिक ८० लाख ९४ हजार ३ सय १२ रुपैया आम्दानी गरी ७६ लाख ६४ हजार ७ सय ४ रुपैया खर्च भएको छ । संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा २९ लाख ६० हजार ८ सय ७५ रुपैया बचत गरेको छ ।

बाल कल्याण अधिकारी सबै स्थानीय तहमा नहुँदा बालबालिकाहरुका समस्या समाधानका लागि असहज भएको, पुर्नस्थापना लगायतका क्षेत्रहरु कठिनाई भएको लगायतका विषयहरु समेटिएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्णराम श्रेष्ठको स्वागत तथा ब्यवस्थापक रविना पौडेलको संचालन गरेको थियो । सोहि कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि थिए ।