पनौती बालश्रममुक्त नगरपालिका घोषणा

पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणा भएको छ । पनौतीमा आयोजित भव्य समारोहकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गरेका हुन् ।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त नगरपालिका घोषणा महत्वपुर्ण उपलब्धीको रुपमा लिएको बताए । यद्यपी यसको निरन्तरतामा ध्यान दिन नसकिए घोषणाको वास्तविक अर्थ नहुने तर्फ पनि नगरपालिका सचेत रहेको उनको भनाई थियो । दिगोपनाको लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको नग प्रमुख भण्डारीले बताएका छन । नगर प्रमुख रामशरण भण्डारीले समाज रुपान्तरण गर्दै सभ्य समाज निर्माण गर्ने क्रममा थप सफलता प्राप्त भएको बताए ।

उप–प्रमुख गीता बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । टोल–टोल र वस्तीस्तरमा सञ्चालित कार्यक्रमबाट बालबालिकाको व्यक्तित्व, क्षमता विकासमा धेरै परिवर्तन आएको उनले बताइन् । बालश्रममुक्त नगर घोषणासँगै जिम्मेवारी पनि थपिएको उनले बताइन् । जिम्मेवारी र चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्ने भन्दै उपप्रमुख बञ्जाराले दिगो विकासका लक्ष्य अनुसार कार्यक्रमलाई टिकाई रहने योजना निर्माण गर्नुपर्नेमा जोड दिइन ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले श्रममा बालबालिकाको प्रयोगले कयौं बालबालिकाहरु आधारभुत तथा मौलिक अकिार, शिक्षा, स्वास्थ्य, सहभागीता र परिवारसँग बस्ने अधिकारबाट बञ्चित हुने बताए । बालबालिकाको अधिकार संरक्षणका लागि बालश्रममुक्त नगर घोषणा महत्वपुर्ण रहेको उनले बताए ।

बालश्रम निवारणका लागि नगरपालिकाले अन्तराष्ट्रिय श्रम संगठन आइएलओ सँग सहकार्य गरिरहेको बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले बताए । बालश्रममुक्त नगर घोषणाका लागि पुरा गर्नुपर्ने विभिन्न सुचकमा निरन्तरको सक्रियतापछि यो सफलता प्राप्त गरेको उनको बञ्जाराले बताए ।

यसअघि सरोकारवालासँग अन्तरक्रिया, तथ्यांक संकलन, होटल पसल, कृषि फर्म, वर्कशपको निरन्तर अनुगमन, एक घर, एक मिनेट कार्यक्रम सञ्चालन, बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर लगायतका कार्यक्रम १२ वटै वडामा सञ्चालन गरिएको थियो । पनौती नगरपालिका यसअघि नै बालमैत्री नगर घोषणा भइसकेको छ ।