संस्कृति, शिक्षा, साहित्यका त्रिवेणी ‘ज्ञानकाजी –मोहनलाल’ का नाममा स्मृति सेवा कोषको स्थापना
बनेपा/संस्कृति, सम्पदा, साहित्य, शिक्षा र समाजसेवामा सक्रिय काभ्रेपलाञ्चोक जिल्लाका नक्षत्रका रुपमा चिनिएका बनेपाका ज्ञानकाजी मानन्धरको योगदानको स्मरणका लागि परिवारका तर्फबाट ज्ञानकाजी–मोहनलाल खिं स्मृति सेवा कोषको शुभारम्भ गरिएको छ । मोहनलाल खिं मानन्धरका छोरा ज्ञानकाजी माननधरले बाबुका नाममा विभिन्न स्थानमा अक्षय कोष मार्फत सहयोग गर्दै आएका थिए ।
‘बुबा र हजुरबुबाको सम्झनामा उहाँहरुले समाजलाई पु¥याउनु भएको योगदानको कदर स्वरुप पहिलो चरणमा परिवारका सदस्यहरुको स्वत स्फुर्त सहयोगमा ज्ञानकाजी–मोहनलाल खिं स्मृति सेवा कोषको स्थापना गरेका छौं’–छोरा प्रकाश मानन्धरले भने–‘बुबा र हजुरबुबा दुबै तान्त्रिक विद्यामा समेत पोख्त हुनुहुन्थ्यो । हजुरबुबा मोहनलाल खिं मानन्धरले शुरु गर्नु भएका साहित्य, नाटक, संस्कृति, इतिहास तथा समाजसेवालाई बुबा ज्ञानकाजीले पछ्याउनु भयो’–छोरा प्रकाश मानन्धरले भने–‘तीनवटा भाषाबाट साहित्यका पुस्तकहरु प्रकाशन गर्नु भयो । आफ्नो जीवन अरुका लागि सर्मपित गर्नु पर्छ भन्ने भाव सिकाउनु भयो । सहयोगि भावना सिकाउनु भयो ।’
हजुरबुबा मोहनलालले १३ वर्षको उमेरमा आफै नाटक लेखन र निर्देशन गरेको उनले बताए । ज्ञानकाजीका अन्य दाजुभाईहरुले पनि हजुरबुबा मोहनलालका धेरै ज्ञानहरु ब्यवहारमा उतार्दै आएका थिए ।
श्रीमान र ससुराको नाममा स्मृति कोष स्थापना गर्न श्रीमती सुखवेति मानन्धरले १ लाख रुपैया प्रदान गर्नु भएको छोरा प्रकाशले बताए । आमा सुखवेतिको निरन्तरको प्रयास तथा अन्य शुभेच्छुकहरुको सुझाव र सल्लाहबाट समाजमा उहाँहरुको योगदानलाई स्मरण राखिरहन साहित्य, शिक्षा र समाजसेवालाई मुख्य आधार बनाउँदै जीवन अर्पण गर्ने ब्यक्तिहरुको सम्मान तथा शिक्षा लगायतका क्षेत्रबाट पछि परेका र पारिएका ब्यक्तिहरुको अध्ययन लगायत अन्य सामाजिक कार्यमा सक्रियता रहन उक्त कोषको स्थापना र त्यसको परिचालन गरिने छोरा प्रकाशले बताए ।
आमा सुखवेतिले ज्ञानकाजी, मोहनलाल लगायत मानन्धर परिवारले शुरु गरेको चण्डेश्वरी मन्दिर नजिकैको गुम्बामा हरेक वर्षको श्रीपन्चमीमा हुने पुजा तथा भोजको संरक्षण, सम्र्वद्धन र प्रर्वद्धनका लागि ५० हजार नगद सहितको अक्षय कोष स्थापनाका लागि अध्यक्ष रमेशकाजी मानन्धरले हस्तान्तरण गर्नु भयो । स्मृति सेवा कोषमा अमेरिकामा बस्ने ज्ञानकाजी मानन्धरका जेठा छोरा भुवनकाजी मानन्धर, उनका छोरा छोरी तथा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गरेका छन् । पहिलो चरणमा १० लाख रुपैयाको कोष शुभारम्भ गरिएको छ ।
कोष स्थापनासँगै नेपालको इतिहासमा गणतन्त्रको विगुल फुक्न साहित्यको माध्यमबाट शशक्त आवाज उठाउने संस्कृतविद्, इतिहासविद् हरिराम जोशी र साहित्यकार सुर्यप्रसाद लाकोजुलाई नगद १५ हजार सहित पहिलो वर्षको सम्मान गरिएको छ ।
बरिष्ठ संस्कृतविद् प्रा.डा.पुरुषोतम लोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, सम्मानित ब्यक्तिहरु, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, छोराहरु भुवनकाजी मानन्धर र प्रकाश मानन्धर, बरिष्ठ पत्रकार रघुवरभक्त मानन्धर, नातिनी श्रेया मानन्धर लगायतले नेपालको इतिहासमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा जन्मिएर शिक्षा, साहित्य, संस्कृति, सम्पदा र समाजसेवामा ज्ञानकाजी मानन्धर र उनका बुबा मोहनलाल मानन्धरले पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।
ज्ञानकाजी मानन्धर १९९१ पौष २६ गते बनेपामा जन्मिएका हुन् । २०८० भदौ ८ गते उनको निधन भएको थियो ।