संविधान दिवसका दिन काभ्रेका १५ युवा सम्मानित हुने
संविधान दिवसका दिन काभ्रेका १५ युवालाई सम्मान गरिने भएको छ । राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले असोज ३ गते भव्य समारोहकाबीच विभिन्न विधाका उत्कृष्ट युवालाई सम्मान गर्न लागेको अध्यक्ष इश्वरबल्लभ सापकोटाले जानकारी दिए । शैक्षिक, कृषि, खेलकुद, स्वास्थ्य, वन वातावरण र पर्यटन, उद्यमशीलता, बैंक वित्तीय, विज्ञान तथा सुचना प्रविधि, कला सँस्कृति र साहित्य, पत्रकारीता लगायतका क्षेत्रबाट उत्कृष्ट १५ जना युवालाई सम्मान गर्न लागिएको हो ।
यसअघि सम्मान कार्यक्रममा सहभागी हुनका लागि युवा संघ जिल्ला कमिटीले अवेदन आह्वान गरेको थियो । तोकिएको समयावधिमा १०० जना भन्दा बढीको आवेदन प्राप्त भएको युवा संघ काभ्रेले जनाएको छ । प्राप्त आवेदन मध्येबाट छनौट समितिले उत्कृष्ट युवा चयन गर्दैछ ।
धुलिखेलको हिमालय दृश्य रिसोर्टमा हुने कार्यक्रममा सफल युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई पनि समेटिनेछ । युवा सम्मान कार्यक्रम युवाहरुको सशक्तिकरण र समृद्धिको माध्यम बन्ने विश्वास लिइएको छ । यस्तै युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई अरु युवालाई समेत हौसला बन्ने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमले युवाहरु समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट नेतृत्व गरिरहेका छन् भन्ने उदाहरण समेत दिने उनको भनाई छ । स्वदेशमै सम्भावना देखाउने कार्यक्रमका रुपमा समेत युवा सम्मेलनलाई लिइएको भन्दै उनले वैदेशिक रोगजारीका लागि विदेशिने क्रमलाई रोक्ने समेत कार्यक्रम सहयोगी बन्ने बताएका छन ।