दशैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?
बहुसङ्ख्यक नेपालीले मनाउने सबैभन्दा ठूलो चाडका लागि यातायातको अग्रिम टिकट बुकिङ खुल्ने समय नजिकिँदै गर्दा यातायात व्यवसायी र सरकारबीच सडकको अवस्था देखि राइड शेअरिङ नियमन समेतका विषयमा मतभेद देखिएको छ।
रोजगारी वा अध्ययनका लागि राजधानी सहितका प्रमुख सहरहरूमा बस्ने मानिसहरू दशैँ मनाउन आफ्नो परिवार भएका ठाउँमा जाने प्रचलनका कारण यो समयमा सडक तथा हवाई यात्रुहरूको चाप हुने गर्छ।
नेपालमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दशैँको अग्रिम टिकट बिक्री खुला गर्नु अघि “सरकारले कार्यान्वयन गर्न बाँकी प्रतिबद्धताबारे सम्झाउने” बताएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडबाडको समयमा हुने सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्था सहजीकरणबारे छलफलका लागि बुधवार यातायात व्यवसायीहरूलाई बोलाइएको बताएको छ। यातायात मन्त्री दाहाल समेत सहभागी हुने त्यही छलफलका क्रममा यातायात व्यवसायीका मागबारे पनि छलफल हुने मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले जानकारी दिए।
नेपाल प्रहरीले विगतका वर्षहरूमा तयार गरेको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा हरेक वर्ष दशैँको समयमा ८०० वटाको हाराहारीमा सवारी दुर्घटना हुने गरेका छन्।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, सडकको दुरावस्था र चालकको अनिद्रा लगायतका कारण चाडबाडको समयमा बढी सडक दुर्घटना हुने गरेको अधिकारीहरू बताउँछन्।
विगतमा वर्षहरूमा भन्दा यो पटक यातायात व्यवसायीहरूले सडकको अवस्थाबारे धेरै चिन्ता लिइरहेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए।






