एक वर्षमा १५ सयविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा १४ सय ९७ व्यक्ति र ४८ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा अख्तियारले २ सय १ मुद्दामा उनीहरूलाई प्रतिवादी बनाउँदै साढे ८ अर्ब रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको हो । प्रतिवादी बनाइएका व्यक्तिमा १ हजार १ सय १७ पुरुष र ३ सय ८० महिला छन् ।

अख्तियारले संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारी, ठेकेदार, बिचौलिया लगायतविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सबैभन्दा बढी भ्रष्टाचार मुद्दा गैरकानुनी लाभहानिसँग सम्बन्धित छन् । विशेष अदालतमा दायर मुद्दामध्ये गैरकानुनी लाभहानिमा १ हजार १४ व्यक्ति र १५ संस्थाविरुद्ध ३ अर्ब ९७ करोड ९८ लाख ८४ हजार ८ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अख्तियारले गएको आर्थिक वर्षमा ५ सय २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसमा मुख्यसचिव वैकुण्ठ अर्यालसहित विशिष्ट श्रेणीका ६, सहसचिव वा सोसरहका ३०, उपसचिवसरहका ८२, शाखा अधिकृतसरहका २ सय २ र त्यसभन्दा मुनि सहायकस्तरका २ सय कर्मचारी परेका छन् ।

यस्तै, १ सय ६ निर्वाचित जनप्रतिनिधि र १ सय ४८ मनोनीत पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ । सार्वजनिक पदधारणसहित राजनीतिक नियुक्ति पाएका ३२ जना, सार्वजनिक ओहदाबाहिर रहेका संघसंस्था र बिचौलिया तथा लेखापढी व्यवसायीको हैसियतमा रहेका ७ सय ३९ जनाविरुद्ध पनि मुद्दा चलाइएको छ । भ्रष्टाचार मुद्दा लागेकामा ७८ स्थानीय तहका जनप्रतिनिधि छन् ।

सार्वजनिक सेवा प्रवाहका क्रममा घूस लिएको अभियोगमा अख्तियारले ८५ जनालाई प्रतिवादी बनाएर ४८ वटा मुद्दा दायर गरेको छ । त्यसमा १ करोड ९१ लाख ६० हजार ५ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानीका ३३ मुद्दामा ६ संस्था र २ सय ३७ जनाविरुद्ध २ अर्ब १२ करोड ५८ लाख ९१ हजार ९ सय १६ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाइएको छ ।