काभ्रेका दुई जनप्रतिनिधि 'शी लिड्स आइकन' को उत्कृष्ट २७ मा

शी लिड्स आइकनमा काभ्रेका दुई जनप्रतिनिधि छनौट भएका छन् । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना शी लिड्स आइकन प्रतियोगितामा उत्कृष्ट २७ मा पर्न सफल भएका हुन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरु मध्ये काभ्रेबाट २ जना मात्रै अटाएका छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । उत्कृष्ट २७ मा परेसँगै दुवै जनाले उत्कृष्ट ३ मा पुग्न मतको लागि अपिल गरेका छन् ।

उप–प्रमुख सापकोटाको भोटिंग आईडी १६ रहेको छ । उनले जनप्रतिनिधि भएपछि न्यायिक सहयोग कोष स्थापना गरेको बताएकी छन् । जसले आर्थिक रुपमा कमजोर, एकल महिला, ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत बालबालिकाको न्यायमा पहुँच पुगेको उनको भनाई छ । यस्तै गृहणी महिलालाई उद्यमी बनाउन सिपमुलक तालिम दिई उद्यमशीलता प्रवद्र्धन, महिला उद्यमीहरुका लागि हाटबजार र बजारमेला सञ्चालन, उच्च शिक्षामा दलित छात्रा छात्रवृत्तिका कार्यक्रम, वडामा आमा समुह गठन गरी सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।


बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको भोटिंग आइडी १५ हो । समाजमा व्याप्त जाति, लैंगिक र वर्गीय भेदभावलाई न्यून गर्नका लागि आफुले विपन्न, दलित, जनजाति र एकल महिला कृषकहरुलाई भैंसी वितरण, सुन्तला, कागती, विवि, जस्ता फलफूल खेती प्रवद्र्धन लगायतका न्यायिक कार्यहरु सम्पादन गर्दै आइरहेको बताएकी छन् ।

उपप्रमुख सापकोटा र उपाध्यक्ष तिमल्सिनासँगै सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुहरुलाई २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा प्राप्त जनमतबाट उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने छ ।