१२ हजार जिल्लाबासीले छाडे स्वदेश

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक वर्षको अवधीमा जिल्लाबाट १७ हजार ९ सय ३ जनालाई राहदानी उपलब्ध गराएको छ । द्रुत गतिमा राहदानी लिनेहरुको संख्या करिव एक हजार भन्दा धेरै रहेको तथ्यांकले देखाएको छ ।

राहदानी लिएर बैदेशिक रोजगारमा जाने नागरिकहरुको संख्या एक वर्षको अवधीमा १२ हजार २ सय ६३ रहेको छ । जसमा पुरुष ८ हजार ६ सय ८८ जना र महिला ३ हजार ५ सय ७५ जना छन् । राहदानी बनाएका मध्ये अन्य केहि समयका लागि घुम्न र अध्ययनका लागि रहेको बताईएको छ ।

बैदेशिक रोजगारका लागि विदेश जानेहरु मध्ये म्यानपावरबाट पुरुष ४ हजार १ सय ९३ जना र महिला १ हजार ५ सय ४० जना गएका छन् । दुई देशको जिटुजी सम्झौतबाट पुरुष २ सय ९४ जना गएका छन् । जम्मा ६ हजार २७ जना विदेशिएका छन् । ब्यक्तिगत तवरबाट १ हजार ४ सय ६८ जना पुरुष, ७ सय ५ जना महिला गरी २ हजार १ सय ७३ जना विदेश गएका छन् । नयाँ थप विदेश गएकोमा पुरुष ५ हजार ९ सय ५५ जना र महिला २ हजार २ सय ९५ गरी ८ हजार २ सय ५० जना रहेका छन् ।

बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि आप्रवासी स्रोत केन्द्रबाट २०७६ पौष २१ गते देखि २०८१ असारसम्म सूचनामा पहुँच कार्यक्रम मार्फत ४१ हजार ५६ जनालाई निशुल्क परामर्श सेवा उपलब्ध गराईएको छ । सीप विकास तालिमा २ सय १३ जना सिफारिस भएकोमा ४८ जनाले मात्रै तालिम लिएका छन् । न्यायमा पहुँचमा १ सय ७८ जनाले लिएका छन् । पिएनसिसीमा १ सय २७ जनाको सिफारिस भएकोमा सेवा लिन सक्ने अवस्था शुन्य भयो । जिल्ला प्रशासन कार्यालयमा २७ वटा उजुरी सिफारिस भएकोमा २ वटा मात्रै कार्यान्वयन भएको छ । जसमा ४ लाख ५० हजार फिर्ता भएको छ । ठगीका धेरै उजुरी दर्ता हुने गरेको छ । मनोसामाजिक परामर्श ३ सय ३३ जनाले लिएका छन् । जसमा ३ सय ९ महिला र २४ जना पुरुष छन् । वित्तिय साक्षरता १ हजार ३ सय जनाले पाएका छन् ।

बैदेशिक रोजगारबाट पठाएको रकम हरेक दिन खर्च भएको शिर्षक र रकम पासबुकमा चढाउने गरिएको छ। वित्तिय साक्षरता कार्यक्रमले पारिवारीक सम्वन्धमा अझै विश्वास बढेको छ । आप्रवासी कामदार तथा तिनका परिवार र रिटर्नी आप्रवासी सञ्जालका ब्यक्तिहरुलाई लक्षित समुह मानेर सामी कार्यक्रम संचालन गरिएको थियो । सामी कार्यक्रमका संयोजक बसन्त कुँवरले कार्यक्रम प्रभावकारी भएको बताए ।

धुलिखेल, मण्डनदेउपुर, भुम्लु र रोशी गाउँपालिकामा शुरु भएको कार्यक्रम यो वर्षबाट नमोबुद्धमा थप भएको छ । तीन तहकै सरकारले उक्त कार्यक्रमका लागि रकम विनियोजन गरेका छन् । अहिले पनि बैदेशिक रोजगारमा जानेहरु ठगिने क्रम बढिरहेको छ ।