आईसीसी क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा नेपालको क्यानडासँग लज्जास्पद हार

काठमाडौं /आईसीसी क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा नेपालले क्यानडासँग लज्जास्पद हार ब्यहोरेको छ।  नेपाल आयोजक क्यानडासँग १ सय ३ रनले पराजित भयो। 

वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो।​ क्यनडाको किंग्स मैदानमा टस जितेर नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। क्यानडाले आठ विकेटमा २ सय ५३ रन बनाएको थियो।

जवाफमा नेपालले ४० दशलमव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो। नेपालका लागि कुनै पनि ब्याटरले गतिलो योगदान दिन सकेनन्। दसौं क्रममा ब्याटर करण केसीले २४ बलमा बनाएको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए। क्यानडेली बलरमध्ये डिलन हेलिगर घातक सावित भए र उनले ३१ रन खर्चेर पाँच विकेट लिए। 

उनले नेपालका दुवै ओपनरलाई आफ्नो शिकार बनाए। यस्तै अखिल कुमार र अनस पटेलले दुईरदुई विकेट लिए।

यसअघि क्यानडाका लागि कप्तान निकोलस क्रिर्टनले सर्वाधिक ७७ रन बनाए र नटआउट रहे। उनले ४४ बलमा तीन चौका र छ छक्का प्रहार गरे। यस्तै ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए। हेलिगर ब्याटबाट पनि चम्के र उनले ३० रन बनाए। उनी नै ‘प्लेयर अफ द म्याच’ भए। नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले दुई–दुई विकेट लिए।

लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ। यो नेपालको लगातार तेस्रो हार पनि हो। 

क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ। अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

नेपाले अब अर्को खेल भोलि ओमानसँग खेल्नेछ।