त्रिविको ३० पदकाे लागि २ सय ५८ प्राध्यापकको आवेदन
काठमाडौँ /त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो ।
समितिका सचिवालयहरूले सोमबार दिएको जानकारीअनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशकलगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका हुन् ।
छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि रुजु र छानबिनको प्रक्रिया जारी छ । आवेदकहरूमध्येबाट नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने उपकुलपति केशरजंग बरालले बताए । ‘छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति दिन्छ,’ बरालले भने ।
चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न सबैभन्दा धेरै १३ जना प्राध्यापकले आवेदन दिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११–११ जनाको आवेदन परेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन् ।
व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ । चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानको डिन आकर्षक पद मानिन्छ । यसअघि पनि यी संस्थानमा डिन बन्न पहुँचका आधारमा राजनीतिक लबिइङ हुँदै आएको छ ।