पाँच वर्षमा मानव बेचविखनका ११ मुद्दा
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा मानव बेचविखन, ओसार पसार तथा जिउ मास्ने बेच्ने सम्वन्धि ११ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये केहिको फैसला भईसकेको छ भने केहि मुद्दा विचाराधिन छन् ।
पछिल्ला केहि महिना जिल्लामा प्रहरीले होटल तथा रेस्टुरेन्टहरुमा काम लगाउने प्रयोजनमा गलत कृयाकलाप अर्थात जिउ मास्ने बेच्ने कार्यमा संलग्न गराएको अभियोगमा होटल ब्यवसायीहरुलाई मुद्दा चलाई रहेको छ । मुद्दा दर्ता भए पछि पीडितहरुले भने बयान फेरिरहेका छन् । पछिल्लो पटक जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८१ भदौ ५ गते मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्र्तगतको मुद्दा दर्ता भएको छ । जसमा सविता भन्ने बविता नेपाली सहित दुई जना संलग्न छन् । अदालतले उक्त मुद्दामा संलग्न भनिएका अभियुक्तहरुलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ । उनिहरुले बालिकाहरुलाई जर्बजस्ति रुपमा होटल तथा रेस्टुरेन्टमा वेटरका रुपमा राखी यौन कार्यमा संलग्न गराएको अभियोग छ ।
त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८० फागुन १० गते मानव बेचविखन तथा ओसार पसारमा मुद्दा दर्ता भयो । अन्तिम फैसला २०८१ बैशाख १६ गते भयो । जसमा अभियोग दावी नपुग्ने ठहर भयो । प्रहरीले बदलावको भावनाबाट केहि मुद्दाहरु दर्ता गरेको नागरिक समाजका प्रतिनिधिहरुले विश्लेषण गरेका छन् । २०८० असोज १६ गते र २०८० भदौ ४ गते दर्ता भएका दुईवटा मुद्दामा पनि अदालतले अभियोगमा दावी नपुग्ने ठहर गरेको छ । २०८० जेठ २५ गते गते दर्ता भएको मुद्दामा अभियोगमा आंशिक दावी पुग्ने फैसला भएको छ । २०८० बैशाख १२ गते दर्ता भएको मुद्दा अझै फैसला भएको छैन । २०७८ फागुन २२ पछि एकै पटक २०८० बैशाखमा मात्रै मुद्दा दर्ता भएको थियो । २०७८ सालमा एउटा, २०७७ सालमा एउटा र २०७६ सालमा २ वटा मात्रै मुद्दा दर्ता भएको अदालतको रेकर्ड छ । अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले मानव बेचविखन तथा ओसार पसार सम्वन्धी मुद्दाहरु सरल मार्ग, विशेष मार्ग र सामान्य मार्गबाट दर्ता हुँदै आएको बताईन् । पाँच वर्षको अवधीमा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुको तथ्यांक ११ वटा मात्रै रहेको भण्डारीले जानकारी दिईन् । ११ वटा मध्ये ५ वटामा दावी नपुग्ने, एउटा फैसला हुन बाँकी, एउटामा आंशिक र अन्य केहिमा दोषि देखिएका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारमा लैजाने एजेन्टहरुले पनि मानव तस्करी गर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
उक्त अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अशिक्षा र रोजगरीको अवर नहुँदा, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू बेचविखन तथा अपराधमा संलग्न गराईने गरेको छ । मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदैछु भन्ने जानकारी नहुने भएकाले यसको रोकथामका लागि चुनौती भएको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताईन् । ‘मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भए जस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ’–एसपी खड्काले भनिन–‘लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् । संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ । बेच्ने गिरोहले बेचिनेलाई फरकरफरक लालच दिएका हुन्छन् ।’ नेपालको परिप्रेक्ष्यमा डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि मानव बेचविखन हुने गरेको छ ।
विवाह गरेको नाटक गरी विदेश पु¥याउने, सरोगेट मदर बनाउने, छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएको घटना भएको प्रहरीले बताएको छ । स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा मानव बेचविखन हुने गरेको प्रहरीले बताएका छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिने गरेको एसपी खड्काले बताईन् । बेचबिखन रोक्न समाजमा चेतना फैलाउन, विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउन, पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन, समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउन सबै क्षेत्र सक्रिय हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।






