नैतिकवान् जनशक्तिको लागि शिक्षाशास्त्रलाई सबल बनाऔं
।
शिक्षक गरिमामय र आदर्श शब्द हो । जसले समाज र राष्ट्रमा आफ्नो छुट्टै मर्यादा कायम गरेको हुन्छ । हिजोआज जोकोही पनि शिक्षक हुने गलत प्रवृत्तिको कारण शिक्षण पेसामै प्रश्न चिन्ह उठ्न थालेको छ ।
तीन शब्दको शिक्षकको शाब्दिक अर्थ सिकाउनु हो भने त्यसको व्यापक अर्थको रूपमा विश्व ब्रम्हाण्डका घटना र परिवर्तन बारे सिकारु लगायत अन्य ज्ञानको कमी भएकाहरुलाई सिकाउने व्यक्तित्व शिक्षक हो ।
शिक्षकले विद्यार्थीलाई नैतिकताको पाठ सिकाएर समाज र राष्ट्रको हितको लागि व्यवहारिक रूपमा नीति निर्माण तर्फ अग्रसर गराउन सहयोग गर्दछ । सोही माध्यमबाट सिद्धान्तरूपी नीति सबै मानव हितको लागि बन्ने गर्दछ ।
देश र समाजलाई बुद्धिजीवी सहित नैतिकवान डाक्टर, वकिल, इन्जिनियर, पाइलट लगायत देश र जनताको सेवाको लागि अन्य पेसाकर्मी जनशक्तिको उत्पादन गर्न शिक्षकको अहम् भूमिका रहन्छ । राज्य संचालनको क्रममा सरकारले आवश्यक जनशक्तिको तथ्यांक निकालेर सेवा क्षेत्रको बजारमा आवश्यक जनशक्ति उत्पादन र निर्माणको दायित्व शिक्षकलाई दिइएको हुन्छ ।
सोही क्रममा अनुशासित र नैतिकवान नागरिक तथा हरेक प्रकारको दक्ष योग्य जनशक्ति निर्माण र उत्पादनको लागि शिक्षक बन्न आवश्यक विषय वा अध्ययन क्षेत्रको रूपमा शिक्षाशास्त्र अथवा शिक्षाक्षेत्र अध्ययन आवश्यक छ । सोको न्यूनतम योग्यता हासिल गरि योग्य र दक्ष भएपछि शिक्षक बन्ने बनाउने नीति विगतमा थियो । जसबाट देश र जनताको सेवाको लागि आवश्यक जनशक्तिको आवश्यकताअनुसार सेवा र वस्तुको उत्पादन तथा निर्माण हुन्थ्यो ।
जबदेखि शिक्षाक्षेत्रमा वैदेशिक सहयोग र अनुदान पाउन थाल्यो तबदेखि जुन विषय अध्ययन गरेकाले पनि शिक्षक हुन पाउने नीति बन्यो । जसले गर्दा नेपालको शिक्षा नेपाली माटो अनुकूल भन्दा पनि विदेशी देशको लागि सस्तो ज्यामी वा मजदुरको रूपमा जनशक्ति उत्पादन र निर्माण हुँदै आएको हो ।
फलस्वरूप आज व्यवस्था परिवर्तन भए तापनि नेपालमा उच्च शिक्षा हासिल गर्ने र देशको सेवा गर्ने भावना नयाँ पुस्ताको नभएको भाष्य सिर्जना भएको छ । जसले गर्दा नेपालको माटो नछुने प्रवृत्तिको जनशक्तिले जस्तोसुकै परिस्थितिमा पनि विदेशमा रगत र पसिना बगाउन लालायित भएको छ ।
साथै शिक्षाक्षेत्रका उत्पादित जनशक्तिलाई शिक्षकको रूपमा नियुक्ति गर्ने भन्दा पनि अन्य विषयको अध्ययनपछि कतै काम नभएको अवस्थामा अन्तिम विकल्प र समय व्यतीत गर्ने नाउँमा आफन्त, आसेपासे, शक्तिको आडमा भनसुन गरेर अनैतिक रूपले शिक्षक बन्ने बनाउने परिपाटी रहेको छ । जुन संस्कारको रूपमा रहँदा देशको शिक्षा नीतिलाई सोही अनुरुप ध्वस्त बनाएर आफ्नो नैतिकता शिक्षक बनेर प्रस्तुत गर्ने जमर्को पनि छ । र तिनै शिक्षकले विद्यार्थीहरूलाई अनुशासन र नैतिकता तथा देशभक्तिको पाठ सिकाउन खोज्नु कतिको जायज छ रु
शिक्षाशास्त्र वा शिक्षाक्षेत्र अध्ययन गरेर देश र जनताको सेवा गर्ने पहिलो तथा अन्तिम विकल्प वा अधिकारलाई हनन गरेर अन्य विषयकालाई बढी महत्त्व दिएर शिक्षक नियुक्ति गर्ने शिक्षाविद् तथा शिक्षासेवीले कस्तो विवेक प्रयोग गरेको हो रु यसबाट शिक्षाशास्त्रका उत्पादनमाथि अन्याय र विभेद गरेर बढी मारमा पारेको छ ।
साथै शिक्षक महासंघ लगायत विभिन्न नामधारी शिक्षक संगठनले समेत पेसागत सुरक्षाको लागि सरकारलाई आफ्नो अनुकूल नीति योजना बनाउन दबाब दिँदा शिक्षाशास्त्रको उत्पादनप्रति चरम अन्याय र भएको छ ।
यसर्थ, तथ्यपरक योजना सहित शिक्षक उत्पादनको क्षेत्र शिक्षाशास्त्रलाई सबल र बलियो बनाई देशभक्त, नैतिकवान नागरिक वा सक्षम जनशक्ति उत्पादनको लागि अदालत वा शिक्षा मन्त्रालयबाट विशेष पहल गर्न सम्पूर्ण बुद्धिजीवी, शिक्षासेवी र शिक्षाविद् अग्रसर हुनुपर्छ ।






