महिलालाई मन्दिर प्रवेशमा रोक
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।
पुजारीको काम गर्दै आएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखा समेत बन्द हुने गरेको सत्यताका उदाहरण धेरै भएकाले मन्दिरभित्र प्रवेशमा वञ्चित गरिएको हो ।
एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन् ।
यहाँ तीज र बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ । यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट धेरै सख्यामा भक्तजन आउने गरेका पुजारी बोहोराले जानकारी दिए ।
सदरमुकाम चरिकोटबाट नजिकको गौरीशङ्कर बालगृहदेखि करिब सात किलोमिटर गाडी यात्रामा पुगिने धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यो मन्दिरमा मङगलबार र शनिवार भक्तजनको भीड लाग्ने गरेको छ । यहाँ विशेष पूजाआजा दुई दिन मात्र हुने हुँदा यी दिनमा दुई हजारभन्दा बढी भक्त जनको उपस्थिति रहने गरेको छ । अरू दिन भने सय जनासम्म हुने गर्दछन् । यातायातको सुविधा भएपछि गाडी लिएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।






