बनेपामा मिस्टर काभ्रे शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष एवं महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता
बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा असोज १२ गते शनिबार विहान ८ बजे देखि जिल्लामा दर्ता भई संचालनमा आएको काभ्रे शारीरिक सुगठन तथा फिटनेस संघले पहिलो पटक मिस्टर काभ्रे शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष एवं महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।
संघबाट मान्यता प्राप्त उक्त संघले जिल्लाको बनेपामा पहिलो पटक उक्त कार्यक्रमको आयोजना गरेको हो । अध्यक्ष वरदान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको तयारीका लागि विभिन्न गतिविधिहरु शुरु भएका छन् । जिल्लामा गठन भएको उक्त संघको उपाध्यक्षमा नारायणप्रकाश श्रेष्ठ, सचिव पुजा श्रेष्ठ, कोषाध्यक्ष सत्यनारायण वनमाली रहेका छन् । त्यस्तै सदस्यहरुमा अनु मानन्धर, असिम पोटे, राजिव रसाईली, हरिशरण वाटा, प्रतितराज गिरी रहेका छन् । सल्लाहकारहरुमा अरुणकाजी बैद्य, गोपाल बैद्य, सुजन श्रेष्ठ, राजाराम दुवाल र सरोज दुवाल रहेका छन् । उक्त संगठनलाई जिल्ला खेलकुद विकास समितिले समेत मान्यता प्रदान गरेको छ ।
स्वस्थ मानसिकताको लागि स्वस्थ शरिर, स्वस्थ शरीरका लागि शारीरिक ब्यायाम भन्ने नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको हो । ७० भन्दा धेरै खेलाडीहरुको सहभागि हुने प्रतियोगितामा मिस्टर काभ्रेका लागि ६ वटा तौल समूहका ब्यक्तिहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । ५५, ६०, ६५, ७०, ७५, ७५+ केजी समुहका ब्यक्तिहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
महिला एथलेटिक्स फिजिक्स (खुल्ला समुह) र पुरुष एथलेटिक्स फिजिक्स (खुल्ला समुह) मा प्रतिस्पर्धा गर्न सक्नेछन् । बनेपाको स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने उक्त कार्यक्रममा उत्कृष्ट हुनेहरुलाई नगद सहित पुरस्कृत गरिने वरदान श्रेष्ठले बताए ।
शारीरिक ब्यायाम गर्न सर्वसाधारणलाई प्रेरित गर्ने, विभिन्न प्रकारका दुब्र्यसनहरुबाट यूवा वर्गलाई टाढा राख्ने, शारीरिक सुगठन खेलको संस्थागत विकास र विस्तार, खेलको ब्यवसायीक खेलाडीहरुको उत्पादन, युवाहरुलाई बडि विल्डिङ्ग प्रति आकर्षित गरी स्वास्थ्य नै धन हो भन्ने भावना जागृत गराउने लगायतका उदेश्य रहेको सचिव पुजा श्रेष्ठले बताईन् ।






