स्वयम्भुदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने

काठमाडौं स्थित स्वयम्भुदेखि काभ्रेको नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । असोज ५,६ र ७ गते तीन दिन शान्ति पदयात्रा हुन लागेको हो । पदयात्रामा नेपालसहित भारत, थाइल्याण्ड, जर्मनी र बेलायतका पदयात्रीहरुको समेत सहभागीता रहने बताइएको छ ।

पहिलो दिन स्वयम्भुबाट नगल, चावहिल, बौद्ध, नगदेश, थिमि हुँदै मुनी बिहार भक्तपुरसम्म पदयात्रा हुनेछ । दोस्रो दिन मुनी बिहारबाट कमल विनायक, नाला गुम्बा हुँदै ध्यानकुटी बिहार बनेपा र तेस्रो दिन बनेपाबाट चण्डेश्वरी हुँदै सुब्बागाउँ, मुक्तिनाथ मन्दिर, पनौती लायकु पाटी, इन्द्रेश्वर महादेव मन्दिर, नमोवुद्ध देवघर हुँदै सुन्थान, नौबिसे फाँट, इँटे, शंखुपाटीचौर हुँदै नमोवुद्ध पुगेर शान्ति पदयात्रा समापन हुनेछ ।

त्यसअघि पनौती लायकु पाटीमा औपचारिक कार्यक्रम आयोजना गरिएको हलिं नेवाः गुथि पनौतीका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । हलिं नेवाः गुथि र वर्ल्ड फोरम फर वुद्धिजम्को आयोजनामा शान्ति पदयात्रा हुन लागेको हो ।