प्रधानमन्त्री ओली र सभापति देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रम हस्तान्तरण

सत्ता गठबन्धनले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम प्रतिबद्धताका साझा कार्यक्रम तयार पारेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ ।

मस्यौदा बुझाएपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम जानकारी दिए ।

उनले यो साझा कार्यक्रम नभइ दुई वटा राजनीतिक दलहरुको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको बताए ।

गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।