पनौतीमा हाटबजार सञ्चालन गर्ने तयारी
विकास तिमल्सिना
पनौतीमा हाटबजार सञ्चालनको तयारी थालिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजसँगै रैथाने खाना हाटबजारमा राख्ने गरी प्रकृया थालिएको पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिए ।
हाटबजार सञ्चालन गर्नुअघि विहिबार सरोकारवालासँग छलफल गरिएको थियो । छलफलमा वडा अध्यक्ष ताम्राकार, वडा सदस्य सरु देउला, तारणी दुवाल, रामसुन्दर भुजु, कृषक, महिला समुहका प्रतिनिधि, सहकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उस्थिती रहेको थियो ।
भेलाबाट वडा नम्बर ७ को संयोजकत्वमा सबै संघ संस्थाको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ । समितिले आवश्यक तयारी गरेपश्चात हाट बजार सञ्चालन हुने बताइएको छ ।
नगरभित्रका सबै वडालाई समेट्ने गरी हाटबजार सञ्चालन गर्ने वडा सदस्य रामसुन्दर भुजुले जानकारी दिए । छलफलमा सहभागीहरुले कृषि उपजसँगै रैथाने खानाको परिकार समेत हाट बजारमा समेट्न आग्रह गरेका छन् ।
वडामा सञ्चालित कोसेली घरप्रती पनि आकर्षण देखिएकाले हाटबजारको अवधारणा अघि सारिएको वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिए । हाट बजार सञ्चालनमा आएसँगै, अर्गानिक, ताजा तरकारी, रैथाने खानाको प्रवद्र्धन सँगै आर्थिक उपार्जन पनि हुने वडा कार्यालयको विश्वास छ । हाट बजारमा विक्रेता र क्रेताको भेट हुने भएकाले बिचौलियाले खाने रकम समेत कृषकले प्राप्त गर्ने छन् ।
योमरीको उद्गमस्थल मानिने पनौतीको प्रचारप्रसारका लागि समेत हाट बजारले सघाउने चण्डेश्वरी मुनाकर्मीले बताइन् । हाट बजारलाई पनौती–डे का रुपमा समेत सञ्चालन गर्न सकिने उनको सुझाव छ ।
विश्व सम्पदा सूचीमा सुचिकृतको प्रयासमा रहेको पनौती क्षेत्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक जानकारी, पनौतीको विकास र चहलपहलका लागि पनौती–डे सहयोगी बन्ने उनको धारणा छ ।
नयाँ पुस्तालाई रैथाने कृषि उपज र खानाको बारेमा जानकारी गराउन पनि हाटबजार महत्वपुर्ण हुने उनको भनाई थियो ।