अल्जाईमरको बढ्दो चपेटामा ज्येष्ठ नागरिकको स्वास्थ्य

सन्दीप के.सी.
स्वास्थ्य शाखा प्रमुख
धुलिखेल नगरपालिका, काभ्रे

आज अर्थात सेप्टेम्वर २१को दिन हो। आजको दिनलाई विश्व अल्जाइमर दिवसको रुपमा विश्वभर मनाईन्छ । यस वर्ष २०२४ को विषयवस्तु ‘अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने रहेको छ । अल्जाइमर बुढ्यौलीपना संगै देखापर्ने एक प्रकारको बिर्सने वा भुल्ने रोग हो । जुन दिमागसंग सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने काम गर्छ । बुढ्यौलीपना एक प्राकृतिक प्रकृया हो तर उमेर उकालो लागेसंगै अनेकौं रोगहरु थपिँदै जाने गर्दछन् । त्यस्तै रोगहरु मध्य एउटा रोग हो-अल्जाइमर रोग । ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा यस रोगको नाम अल्जाइमर्स डिजिज राखिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब ५.५ करोड मानिसहरू डिमेन्सिया अर्थात भुल्ने रोगबाट ग्रस्त छन्, जसमध्ये अधिकांस अल्जाइमर रोगका बिरामी हुन् । अनुसन्धानले देखाए अनुसार ६५ वर्षको उमेरपछि, हरेक पाँच वर्षमा यसको जोखिम दोब्बर बढ्छ र ८५ वर्षपछि यो जोखिम ४०/५० प्रतिशत सम्ममा देखिन सक्छ।
नेपालमा अल्जाइमारको सम्बन्धमा यकिन तथ्यांक नभएता पनि अनुमान बमोजिम सन् २०१५मा ७८,००० जना व्यक्तिहरु यस रोगबाट पिडित थिए भने यो संख्या बढेर सन् २०३० सम्ममा करिब १,५०,००० र सन् २०५० सम्ममा २,८०,००० पुग्ने अनुमान गरिएको छ। सन २०५० सम्ममा विश्व का १ प्रतिशत भन्दा वढि मानिसलाई अर्थात प्रत्येक ८५जना मध्य १ जनालाई यसले सताउने अनुमान छ । यो रोग अहिले विश्वभर फैलिएको छ । तर पनि अहिलेसम्म यो रोग निको पार्ने औषधि पत्ता लागेको छैन ।
यो रोग पुरुष र महिला दुवैलाई लाग्छ । तथापि, महिलामा बढी पाइन्छ ।आफ्नो अग्रज वंशमा यो रोग भएमा वंशाणुगत रुपमा पछिल्लो पुस्तामा यो रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ । डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई यसको जोखिम बढी देखिन्छ।
यस रोगमा तत्कालीन घटना एवं कुराकानी बिर्सने तथा आफुले राखेका सामान हराइरहनु, आफैँ हराइ रहने तथा जोड घटाउ लगायत गणितमा अलमलिने, हरहिसाब अस्तव्यस्त हुने समस्या हुन्छन । हिडाइ असामान्य देखिनु तथा एउटै कुरा बारम्बार दोहोर्यामइरहनु अनि सधैं चिनेको बाटो बिर्सनु जस्ता ब्यवहारिक समस्या देखिन्छन् । अस्वाभाविक व्यवहार देखाउने । नयाँ परिस्थितिको सामना गर्न नसक्ने भ्रममा रहने नजिकको व्यक्ति चिन्न गाह्रो पर्ने हुन्छ भने कडा प्रकारको अलजाइमर भएका व्यक्तिलाई अरुसित कुराकानी गर्न समस्या हुन्छ । अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ । साथै उनीहरुको शरीर काम पुर्णरुपले अरुमा निर्भर हुनु पर्ने बाध्यता रहन्छ । अल्जाइमरको अन्तिम अवस्थामा धेरै निद्रा लाग्नु तथा कुरा गर्नमा कठिनाई हुनु, गरेको काममा चित्त नबुझाउनु, तौल घट्नु जस्ता समस्या हुन्छन । अल्जाइमर भएका व्यक्तिमा धेरजसो खाना खाँदा समस्या हुने गरेको छ । त्यस्तै उनीहरुलाई खानाको नाम सम्झन पनि गाह्रो हुन्छ । अल्जाइमर भएका व्यक्ति अक्सर समाज तथा परिवारबाट निष्कासित, अपहेलित हुनुका साथ बाहिरिने गर्दछन् ।
अल्जाईमर रोगबारेमा स्वास्थ्यकर्मीलाई समेत तालिम र ज्ञानको अभाव रहेको छ । यस रोगको निदान तथा रोगीको सहायतामुलक कामको थालनी गर्न सामाजिक चेतना संगै तिनै तहका सरकारले गम्भिर भएर कार्यक्रम समुदाय तथा बस्ती सेतरमा तत्कालै लैजान पहलकदमीको आवश्यकतालाई जोड दिनुपर्ने देखिन्छ । जसमा जनचेतना वृद्धि र समुदाय तथा राज्यले समयमा नै कदम चाल्नुपर्ने कुरालाई प्राथमिकतामा राखेर ज्येष्ठ नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकार सुनिस्श्चित गरिनु पर्दछ ।