काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइज–२०२४/२५ को उद्घाटन
काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइज २०२४/२५ को उद्घाटन गरिएको छ । सेप्टेम्बर १५, २०२४ मा केयूको केन्द्रीय क्याम्पसमा उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो । समारोहले आगामी पाँच महिनामा जारी रहने यात्राको थालनी गरेको छ । हल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूलाई महत्त्वपूर्ण सामुदायिक चुनौति र सामाजिक मुद्दाहरूका नवीनसमाधानहरू विकास गर्न सशक्त बनाउने विश्वव्यापी प्रतिस्पर्धा हो ।
प्रत्येक वर्ष, प्रतियोगिता एउटा फरक सामाजिक चुनौतीमा केन्द्रित हुन्छ, र सहभागी टोलीहरूले यी मुद्दाहरूलाई महत्त्वपूर्ण रूपमा प्रभाव पार्न सक्ने व्यापार मोडेलहरू सिर्जना गर्न काम गर्छन् । हरेक वर्ष झैं, २०२४/२५ का लागि काठमाडौं विश्वविद्यालयको हल्ट प्राइज आफ्नो ९औं संस्करणका साथ प्रस्तुत भएको हो । यस वर्षको विषयवस्तु असीमित रहेको छ । विगतका वर्षहरूमा जस्तो यस वर्ष सहभागीहरू कुनै निश्चित लक्ष्यमा मात्र सीमित छैनन्; सहभागीहरूलाई असीम सम्भावनाहरू अन्वेषण गर्ने र दिगो विकासका लक्ष्यहरू मध्ये कम्तिमा एक लक्ष्यसँग मिल्ने नवीन विचारहरू विकास गर्ने स्वतन्त्रता छ ।
काठमाडौं विश्वविद्यालयको हल्ट पुरस्कार २०२४÷२५ काठमाडौं विश्वविद्यालयका विभिन्न विद्यालय र सम्बद्ध कलेजहरूका २४ जोशीला व्यक्तिहरूको समर्पित टोलीद्वारा आयोजना गरिनेछ । उक्त टोलीले क्याम्पस निर्देशक श्रीजु मानन्धर र उप क्याम्पस निर्देशक श्रीधि न्यौपानेको नेतृत्वमा, तथा सल्लाहकार, सहायक प्राध्यापक डा. विभुरत्न तुलाधरको रणनीतिक सहयोग र मार्गदर्शनमा सबै सहभागीहरूका लागि सहयोगी र प्रभावकारी अनुभव सुनिश्चित गर्नेछ ।
कार्यक्रममा निरन्तरता र सहकार्यको भावना बढाउँदै नयाँ आयोजक समितिका सदस्यहरू र उनीहरूका पूर्ववर्तीहरू दुवैको उपस्थिति रह्यो। प्रत्येक सदस्यले आ–आफ्नो भूमिका र आगामी कार्यकालका लागि आफ्ना आकांक्षाहरू व्यक्त गर्दै आ–आफ्नो परिचय दिए ।
नवनियुक्त क्याम्पस निर्देशक र निवर्तमान क्याम्पस निर्देशकद्वारा आ–आफ्नो कार्यकालको अन्तर्दृष्टि र अनुभव आदान–प्रदान गरियो। उक्त कार्यक्रममा आयोजक समितिका पूर्व सदस्यहरुको योगदानको कदर स्वरूप उनीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । समग्रमा, कार्यक्रमले यस वर्षको प्रतियोगितामा आगामी दिनहरूमा आउने चुनौती र अवसरका लागि सकारात्मक सन्देश प्रदान गरेको छ ।
प्रतियोगितामा स्थानीय, क्षेत्रीय र विश्वव्यापी फाइनल कार्यक्रम सहित धेरै चरणहरू समावेश हुन्छन्, जहाँ टोलीहरूले आफ्ना विचारहरू निर्णायक मण्डल सामु प्रस्तुत गर्दछन् । ग्लोबल फाइनलका विजेताले आफ्नो नवीन स्टार्टअप अवधारणालाई वास्तविक उद्यमहरूमा परिणत गर्न $1 मिलियन कोष प्राप्त
गर्दछन् ।
काठमाडौं विश्वविद्यालयको हल्ट प्राइज नेपालमा पहिलो अन क्याम्पस हल्ट प्राइज कार्यक्रम हो । यस कार्यक्रममा नेपालका सबै विश्वविद्यालय र सम्बद्ध कलेजका विद्यार्थीहरूलाई २ देखि ४ सदस्यको टोली बनाएर सहभागी हुने अवसर हुन्छ । काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजको फाइनलबाट शीर्ष दुई टोलीले त्यस वर्ष हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलनमा आफ्ना विचारहरू प्रस्तुत गर्ने मौका पाउने शिशिर सापकोटाले जानकारी दिए ।






