विश्वविद्यालय विश्वस्तरकै हुनुपर्छ
सप्तऋषिमध्येका जेठा ऋषि गौतम र देवराज इन्द्रको तपसस्थल, बद्रीनाथ, केदारनाथ, माता ब्रम्हायणी, मुक्तेश्वर महादेव, गोरखनाथ मन्दिर, सङ्कटा मन्दिर, भीमसेनस्थान, इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, तोला नारायण लगायत विभिन्न नारायणका मूर्तीहरुलाई बगलमा पारेर तीन पवित्र नदीको अपूर्व सङ्गमस्थल त्रिवेणीधाम, प्रत्येक बा¥हवर्षको माघमहिनाभर मकरमेला लाग्ने विश्वप्रशिद्ध उत्तरप्रयाग, सचीतीर्थ, बाशुकी नागराजको पितृथलो, भगवान गौतमबुद्धको प्रथमावतार (?) नमोबुद्ध (कान्छा युवराज महासत्व) को जन्मस्थल, पञ्चपाण्डव गुप्तबास बसेको पौराणिक स्थल, दूर्लभ मानिने द्रौपदा मन्दिरले सुसज्जित, नेपालको पहिलो वैज्ञानिक नरबहादुर भारतीको जन्मस्थल, लिच्छवी र मल्ल शासनकालमा सभ्यता, सम्पन्नता र समृद्धिको चरमचुलीमा पुगेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राचीन सानो तर अति सुन्दर सहर पलांैती (जन्मेपछि मानिसले एकपटक पाइला राख्नै पर्ने ठाउँ) अर्थात पनौतीका आफ्ना परममित्र स्व.श्री शम्भुविक्रम के.सी. लगायतकाहरुको अनुरोधमा गुणस्तरीय शिक्षाको उज्यालो प्रकाश छर्न आजभन्दा करीब ३७ वर्ष अघि अथक शिक्षासेवी, अद्वितीय शैक्षिक प्रशासक होनाहार शैक्षिक तपस्वी स्व.श्री लक्ष्मण राजवंशीले पनौतीबासीलाई शैक्षिक प्रेमोपहारस्वरुप सिद्धार्थ वनस्थली इन्स्टिच्यूट सुम्पनु भएको थियो । यो इन्स्टिच्यूट कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको नाफाको ध्येय बोकेको संस्थागत विद्यालय नभएर आत्मनिर्भरताकासाथ शैक्षिकपथमा अविरल अघि बढिरहने गुठी कार्यालयमा अभिलेखित भिन्न प्रकृतिको गैरनाफामूलक सार्वजनिक शैक्षिक गुठी होे ।
सिद्धार्थ वनस्थली इन्स्टिच्यूटले राष्ट्रका भावीकर्णाधार विद्यार्थीको लागि आयोजना गरेको बिदाई, स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकोरुपमा समुपस्थित व्यक्तित्व नेपालको गुणस्तरीय प्राविधिक शिक्षाका प्रखर अभियन्ता, देश, विदेशमा सुपरिचित श्रद्धय प्राज्ञिक व्यक्तित्व, विश्वविद्यालय तहको शिक्षाको लागि आकर्षक गन्तव्य काठमाडौ विश्वविद्यालयका परिकल्पनाकार एवम् संस्थापक उपकुलपति, रसायन विज्ञानका धुरन्धुर विद्वान डा. सुरेशराज शर्मा हुनुहुन्छ ।
शिक्षा विरोधी राणा शासन मैमत्त भएर उत्तरार्धतर्फ लाग्दै गरेको बखत सन् १९४० मा छिमेकी जिल्ला सिन्धुीको खुर्काेटमा वकिल एवम् लेखक पिता विष्णुप्रसाद उपाध्याय र सुसंस्कारी माता सावित्री ढुङ्गेलका् कोखबाट नेपाली धरामा उदाई जनकपुरबाट एस.एल.सी., अहिलेको अमृत साइन्स क्याम्पसबाट आइ.एस्सी., त्रिचन्द कलेजबाट बि.एस्सी. र भारतको कर्नाटक विश्वविद्यालययबाट एम.एस्सी. तहको अध्ययन उच्चाङ्कसहित सफलतापूर्वक पूरा गरी एक दशकसम्म त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय, कीर्तिपूरमा स्नातकोत्तर तहमा आंशिक प्राध्यापकको हैसियतले प्राध्यापन गर्नु भएका श्री शर्मा नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव, पूर्व प्रधान मन्त्री श्री झलनाथ खनाल, प्रधानसेनापति (अ.प्रा.) छत्रमान गुरुङ्ग लगायत राष्ट्रिय जीवनमा चर्चित व्यक्तित्वहरुको समेत गुरू हुनुहुन्छ । प्राध्यापनकै क्रममा विद्यावारिधी (पिएचडी) का लागि बेलायत प्रस्थान गर्नु भएका शर्माले लण्डनको साउथ ब्यान्क यूनिभर्सिटीबाट तीन वर्षमा नै सो अध्ययन समाप्त गरी सन् १९७७ मा आफ्नो नामको अगाडि ‘डाक्टर’ विशेषण थप्न सफल हुनु भएको थियो ।
नयाँ शिक्षा पद्धति, २०२९ को पक्ष र विपक्षमा उत्तिकै बलिया तर्क भएता पनि तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवले नेपाली शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्ने ध्येयले गठन गरेको शिक्षा क्षेत्रको सर्वाेच्च निकाय राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव पदमा लामो समयसम्म वहाल रहेर उहाँले आफूलाई एक कुशल शैक्षिक दूरद्रष्टा एवम् सफल प्रशासकको रुपमा स्थापित गराउनु भयो । बेलायत सरकारको सहयोगमा सार्वजनिक शैक्षिक गुठीकोरुपमा बुढानीलकण्ठ बोर्डिङ्ग स्कूलको स्थापना, सुसञ्चालन र सुव्यवस्थापनको प्रारम्भिक कालको गहन नेतृत्व श्री शर्माले नै वहन गर्नु भयो । पढाइमा अब्बल नभएका, उच्च प्राज्ञिक योग्यताको अपेक्षा नगर्ने र आयार्जन तथा रोजगारीमैत्री शिक्षाको मात्र चाहना राख्ने युवाहरुलाई बजारको मागानुरुपको प्राविधिक शिक्षा÷सीप प्रदान गर्नु समीचीन हुन्छ भन्ने उहाँको दृष्टिकोणसँग सहमत भएर स्व.राजा वीरेन्द्रले उहाँलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (ऋत्भ्ख्त्) को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गर्नु भएको थियो । सन् १९८९ देखि सन् १९९२ सम्म उक्त जिम्मेवारी वहन गर्नु भएको उहाँको कार्यकालमा देशभर दशभन्दा बढी तालिम केन्द्रहरु स्थापना भएर सञ्चालनमा आएका थिए । आयमूलक र रोजगारदायी प्राविधिक शिक्षाको खाँचोबारे जोडदार आवाज उठिरहेको वर्तमान अवस्थामा उत्तिबेलाको त्यो काम कति दीर्घकालीन महत्वको रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
सन् १९९० मा संवैधानिक राजतन्त्रसहितको वहुदलीय शासन प्रणालीको स्थापना भएपछि केही मनमिल्ने साथीहरु विशेष गरेर डा. सीताराम अधिकारी, डा. भद्रमान तुलाधरहरुसँग मिलेर काठमाडौमा सञ्चालन गरिएको काठमाडौ भ्याली कलेजलाई काठमाडौ विश्व विद्यालय (के.यू.) मा रुपान्तरण र स्तरोन्नति गरी राष्ट्रप्रमुख अर्थात सम्वैधानिक राजा कुलपति हुने त्यसबेलाको स्थापित मान्यताको सट्टा प्रधानमन्त्री कुलपति हुने चलनको शुरुवात गराउने साहसी डा. सुरेशराज शर्मा हाल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलको बासिन्दा हुनुहुन्छ । के.यू.ले अवस्थितिको निमित्त काभ्रेपलाञ्चोक जिल्ला रोजेपछि उहाँले पनि काभ्रेपलाञ्चोक जिल्लालाई वेवास्ता गर्न सक्नु भएन । विश्वविद्यालय तहको शिक्षाको सगरमाथारुपी व्यक्तित्वको आश्रयस्थल हुन पाएकोमा काभ्रेली माटो अति गौरवान्वित भएको छ । स्थापना यता ६ कार्यकाल के.यू. को उपकुलपति भएर यसको प्राज्ञिक, भौतिक, सांगठानिक र ख्याति विस्तारमा अतुलनीय योगदान गर्नु भएका अविश्रान्त शैक्षिक तपस्वी श्री शर्माले राजनीतिक हस्तक्षेप र त्यसले फैल्याउने दूष्परिणामको भयले कस्तै असहज अवस्थामा पनि सशर्त अनुदान पटक्कै स्वीकार गर्नु भएन । बरु भनिरहनु भयो– के.यू.को लागि मुद्राभन्दा स्वायत्तता कैयन गुणा बढी मूल्यवान छ । प्राज्ञिक संस्थाहरुले हरदम ख्याल राख्नुपर्ने मुख्य विषय नै यही हो ।
विश्व विद्यालय विश्वस्तरको हुनुपर्ने र विश्व विद्यालयले अहोरात्र खोज, अध्ययन, अन्वेषण र अनुसन्धानमार्फत तथ्य, तथ्याङ्क सहितको परिकल्पनाबाट ज्ञान निर्माण र हस्तान्तरण गरिरहनु पर्ने दृढ मान्यता राख्ने संस्थापक उपकुलपति भन्नु हुन्छ– काठमाडौ विश्वविद्यालय हामीले हाम्रो निमित्त स्थापना गरेका होइनौं, मुलुकको लागि स्थापना गरेका हौं । शिक्षा र शिक्षण संस्था व्यक्ति विशेषका लागि होइनन्, हुन त केवल मुलुकका लागि । जसरी विश्व विद्यालय मुलुकका लागि हुनुपर्छ त्यसरी त्यसका अभियन्ता पनि आमको लागि हुनुपर्छ भन्ने लागेर नै होला नेपालका सुप्रशिद्ध शिक्षासेवी श्री शर्माले हाम्रा लागि काठमाडौ विश्व विद्यालय कठिन यात्राका पाइलाहरु, ब् व्यगचलभथ ग्उजष्िि, बिर्सन नहुनेहरु, गौरीशङ्कर क्षेत्रका केही साधक, शिक्षा विकास र चुनौती, शिक्षा नेपालको सन्दर्भ, स्वर्गमा पैदल, औद्योगिक आत्मनिर्भरतातिर नेपाल जस्ता नपढी नहुने र सङ्ग्रह गरेर राख्नुपर्ने अति उपयोगी गहन कृतिहरु प्रकाशित गरिसक्नु भएको छ ।
बुढ्यौलीले गाँज्दै ल्याएको तन, चाहे जति कमाउन सकिने धन, मन लागे अनुरुप भोग्न सकिने सुख, सयल, काठमाडौको सहज र आरामदायी जीवनयापनको किञ्चित पर्वाह नगरी एकलव्य निष्ठाकासाथ राष्ट्रिय/अन्तराष्ट्रिय बजारमा सहजै बिक्ने मानवीय पुँजी निर्माणको कष्टसाध्य काममा होमिएका पौरखी शर्माज्यू अझै पनि धुलिखेलमा बसेर के.यू. को संभावित नयाँ आयामहरु पहिल्याउन चिन्तनशील हुनुहुन्छ । यदाकदा के.यू. मा लाग्लालाग्ला जस्तो गर्ने खण्डग्रास ग्रहणबाट कसरी मोक्ष दिलाउने जस्ता विषयमा घोत्लिरहनु हुन्छ । स्वदेश तथा विदेशमा हुने प्राज्ञिक कार्यक्रममा प्रमुख वक्ता÷अतिथिकोरुपमा उपस्थित भई आफ्ना अनुभवहरु बाँड्दै र प्रभावकारी र उपयोगी भावी शैक्षिक गोरेटाहरुका बारेमा जानकारी पस्कनु हुन्छ । चिन्तन र अध्ययनलाई आफ्नो आदत बनाउनु भएका श्री शर्मा नेपालका शैक्षिक मनिषिहरु मध्येका उम्दा हुनुहुन्छ । यसार्थ उहाँको शैक्षिक तपस्या अद्वितीय, अनुकरणीय र वन्दनीय रहेको छ । यो धराका पञ्चभौतिक देहधारी प्राणी धेरथोर दोषका पर्याय भएता पनि शैक्षिक सुकर्मका दृष्टिकोणले श्री शर्मा दोषरहीत हुनुहुन्छ भन्दा अत्युक्ति नहोला, सायद । काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक केन्द्र बन्ने आकङ्क्षालाई सहयोग पु¥याउन काठमाडौ विश्वविद्यालयसहित धुलिखेल पाल्नु भएका शैक्षिक राप, ताप र ज्योतिले धपधप बलेर पनि ज्ञानको विरासतले अति विनय, भद्र र शालीन डा. सुरेशराज शर्माको दीर्घायु, सुस्वास्थ्य, उत्तरोत्तर सुयश र सक्रिय जीवनको कामनासहित उहाँकै जीवनकालमै उहाँले सोचेजस्तो के.यू. शीघ्रातिशीघ्र एशियाको उत्कृष्ट ५०० र विश्वको १००० विश्व विद्यालयभित्र सूचीकृत हुनसकोस् र यसको ख्यातिमा कहिल्यै कुनै किसिमको ग्रहण नलागोस्, हार्दिक कामना ।
(सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, पनौतीले मिति २०८१/०५/१६ का दिन आयोजना गरेका शैक्षिक समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री थापाले काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको सम्मानमा व्यक्त गर्नु भएको मन्तव्यको सम्पादिन अंश )






