जलवायु परिवर्तनको प्रत्यक्ष असर ४३ वर्ष पछि ‘अनियन्त्रित’ वर्षा
विकास तिमल्सिना
चौरीदेउराली
जलबायु परिवर्तनको प्रथ्यक्ष असर स्थानीय समुदायमा देखिन थालेको छ । जलवायु परिवर्तनका कारण नागरिकहरुले थातथलो छाड्नु पर्ने परिस्थिती सिर्जना हुँदै गएको छ । पानी पर्दै नपर्ने अनि परे पछि अनियन्त्रित भई भु–क्षय गराउने क्रम बढेको छ । चौरीदेउराली गाउँपालिकाका अधिकांश स्थानमा २०३८ साल पछिको सबै भन्दा ठुलो पानी यो वर्ष परेको छ ।
‘२०३८ साल पछिको ठुलो पानी २०८१ सालमा परेको छ । यति ठुलो पानी २०५० सालमा चितवनमा परेको थियो’– वडा अध्यक्ष कृष्णप्रसाद गौतमले भने–‘म ६३ वर्षको भएँ । २०३८ साल पछिको ठुलो पानी परेको अहिले देखें । खडेरी पनि लामो समय भयो ।’ २०८० भाद्र २२ गते परेको पानी २०८१ असार २२ गते मात्रै पानी प¥यो । साउन १० गतेसम्म सबै गाउँ बगायो । लामो समय पानी नपरेको जमिनमा अनियन्त्रित वर्षात हुँदा थप क्षति पुगेको अध्यक्ष गौतमले बताए । माघ महिना देखि शुरु भएको डंडेलो जेष्ठ महिनासम्म लाग्यो । आगो र घामबाट सुकेको जमिनमा परेको पानीले जमिन बग्यो ।
वडा अध्यक्ष धनबहादुर तामाङले लामो समय खडेरी हुँदा स्थानीयहरुले आफ्नै बारी छेउमा बालेको आगोले बगैंचा नष्ट भएको, खेति प्रणालीमा असर पु¥याएको बताए । ‘हिउँदमा खेति गरौ पानी नआएका कारण उब्जनी हुँदैन, वर्षातमा आएको पानीले क्षति पु¥याउँछ’–अध्यक्ष तामाङले भने–‘जलवायु परिवर्तन विपदको सूचिमा राख्न, त्यस सम्वन्धि तिन तहकै सरकारले कानून बनाउन र नागरिकहरुको जीवन रक्षा गर्न आवश्यक छ ।’ भुकम्प, कोरोना, जलवायु परिवर्तनले वर्षातमा बाढी पहिरो र हिउँदमा खडेरी तथा डँडेलो, चट्याङ्ग लगायतबाट पुगेको क्षति न्यूनिकरण गर्न, जंगली जनावारले दिएको दुख र हैरानी कम गर्न नीति तथा कार्यक्रम प्रष्ट उल्लेख गरेर निर्माण गरिनु पर्ने अध्यक्ष रामबहादुर लामाले बताए । आगलागिका कारण करोडौ रुपैयाका उत्पादन नष्ट भएको, आगो नियन्त्रणका लागि प्रयत्न हुन नसकेको, १० महिना पछि १० दिन परेको पानीले पु¥याएको क्षतिका बारेमा आंकलन नै गर्न नसकिने परिस्थिति निर्माण भएको उनले बताए ।
‘हिउँदमा करोडौ रकम खर्चेर सडक खन्यो, वर्षातमा खन्न भन्दा सोहोर्न र ब्यक्तिका घरहरु जोगाउन धेरै बजेट खोज्नु पर्ने अवस्था आउन थालेको छ’–अध्यक्ष रामबहादुर तामाङले भने–‘नागरिकहरुलाई यो संकटबाट कसरी मुक्त गराउन सकिन्छ ? हामी विकास गरिरहेका छौं कि विनास ? विकास, विनास अनि बुद्धि आउन लागेको हो ?’ जलवायु अनुकुलन विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न, विकास, विनास पछि बुद्दि आउने विषयलाई कम गर्न, वातावरण मैत्री संरचनामा स्थानीय सरकार एक्लैले प्रयत्न गर्न सम्भव नभएको वडा अध्यक्ष गौतमले बताए ।
वातावरण जोगाउन बृक्षारोपण गर्ने, आगलागी नियन्त्रणका लागि युवा सहितको सहभागितामा दक्ष जनशक्ति र श्रोत साधनको ब्यवस्थापन गर्न, वातावरण मैत्री संरचना निर्माण गर्न, खण्डबृष्टि, अतिबृष्टी र अनाबृष्टीमा ध्यान दिन स्थानीयले सरकारलाई अनुरोध गरेका छन् । ‘वातावरण संरक्षण गर्न, जलवायु परिवर्तनका कारण भईरहेको भुक्षय, आगलागी, बाढि पहिरो जस्ता विपद न्यूनिकरण गरी नागरिकहरुको दैनिक जीवनयापनमा सहजिकरण गरिनेछ’–प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले भने–‘स्थानीय कृषक तथा युवाहरु, अन्य सरोकारवाला निकायहरुको समन्वयमा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न संगठित रुपमा जुध्ने गरी गाउँपालिकाले आवश्यक नीति, कानून र कार्यक्रम तय गर्नेछ ।’ ‘विकास गरौ, वातावरण नविगारौं, विकास एक्लै हिड्दैन, विकासलाई विनासले पछ्याई रहेको छ’–प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले भने–‘नागरिकहरु जलवायु परिवर्तनका कारण चरम संकटमा छन् । नागरिकहरुलाई वातावरणमैत्री कानून निर्माण गरेर सहज जीवन यापनका लागि गाउँपालिकाले भूमिका खेल्नेछ ।’
‘चौरीदेउराली गाउँपालिकामा दुतिको पहिरोका रुपमा चिनिएको दक्षिण एशियाको सबै भन्दा ठुलो पहिरो छ । जसले बस्ति विस्थापित गरिरहेको छ । सुरक्षित स्थानमा स्थानान्तरणका लागि भएका प्रयत्नहरु असफल हुने गरेका छन्’–अध्यक्ष चौलागाईले भनिन–‘वाढी पहिरो, आगलागी, लम्पि स्किन लगायतका अनेक विपदबाट नागरिकहरुलाई राहत, पुर्नस्थापना तथा रोकथामका लागि प्रयास गरिएको छ ।’ अध्यक्ष चौलागाईले भनिन– ‘खानेपानीका मुहान सुकेर कतै लिफ्ट, कतै डिप बोरिङ्ग गरेर काकाकुल हुनबाट जोगाउने प्रयत्न पनि पूर्ण सफल हुन सकेको छैन । सिंचाई गर्न कठिन छ । पशुपालन गर्न सम्भव छैन । जलवायु परिवर्तनका असरबाट बच्न जन्म दिनमा बृक्षारोपण गरौ । घर परिवारमा भएका महिला दिदी बहिनीहरुलाई यसको असरका बारेमा बुझाउँ । प्लास्टिकजन्य फोहोरलाई सहि ब्यवस्थापन गरौ ।’
‘चौरीदेउरालीमा देउपोखरी जस्तो ऐतिहासिक स्थल थियो । जहाँ तत्कालिन समयमा राजारानीले पौडी खेल्ने गरेको इतिहास छ । अझै उनिहरुले पौडी खेलि सकेर प्रयोग गरेको तौलिया सुकाउने गरेको ढुंगा पनि छ’–अध्यक्ष चौलागाईले भनिन–‘यस्ता संरचनाहरु जोगाउन कठिन छ । पानी छैन । पोखरी मासिए । कुवा छैनन । धारा छैनन । असरल्ल सडक खनिएका छन् । विकाससँगै जोखिम बढेको छ । सबै वडामा बृक्षारोपण गर्ने, वातावरण मैत्री कार्यक्रमहरुलाई प्रभावकारी बनाउने, जलवायु संरक्षणमा जोड दिन आवश्यक कानून, बजेट र कार्यक्रम तयार गर्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।’
सिविस नेपालले जर्मन सरकारको सहयोगमा चौरीदेउराली गाउँपालिकामा जलवायु अनुकुलन कार्यक्रममा युवाहरुको भुमिकामा स्थानीय सरकारको दायित्व तथा अवस्थाका बारेमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।






