उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन रास्वपाको सर्कुलर
काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।
रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।
रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन ।
सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् ।
जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।
सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने भने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमै छन् ।






