रास्वपा कार्यालयमा आज पनि नेता कार्यकर्ताको चहलपहल
सहकारी प्रकरणमा जोडिएका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ। आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा लगेर थप अनुसन्धानको काम अघि बढाइएको छ। जिल्ला अदालत कास्कीले जोशीलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
जोशी पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेका व्यवासयिक साझेदार हुन्।
गोर्खा मिडियाका सञ्चालक समेत रहेका जोशी पक्राउ परेलगत्तै रवि पनि पक्राउ पर्नसक्ने आकलनसहित रास्वपाले आफ्ना समर्थकलाई आइतबार राति पार्टी कार्यालयमा उतारेको थियो।
राति अबेरसम्म पार्टी कार्यालयमै बसेका लामिछाने १० बजेतिर सम्बोधन गरेर निस्किएका थिए।
सोमबार पनि बिहानैबाट रास्वपाका नेताहरू पार्टी कार्यालयमा भेला भएका छन्। सभापति लामिछाने पनि वनस्थलीस्थित चःमतीमै छन्। पदाधिकारीसहितका नेताहरू पनि सभापति लामिछानेसँग आन्तरिक छलफलमा छन्। बाहिर समर्थकहरू भेला हुने क्रम बढिरहेको छ।






