राष्ट्रसंघको ७९औं महासभाको उच्चस्तरीय छलफल सुरु
संयुक्त राष्ट्रसंघको ७९ औं महासभा अमेरिकाको न्यूयोर्कमा मंगलबार सुरू भएको छ । पाँच दिनसम्म चल्ने महासभाको उद्घाटन सत्रलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्। उद्घाटन सत्रमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली टोली उपस्थित छ ।
‘कसैलाई पनि पछाडि नछाड्नेः वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ नारासहित सुरू महासभामा प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्दै छन् ।
राष्ट्रसंघका अनुसार हालसम्म १ सय २० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख न्युयोर्क आएका छन् । महासभामा १९३ मुलुक तथा दुई पर्यवेक्षक मुलुकहरु होली सी र प्यालेस्टाइन छन् । तर ७९ औं महासभामा इतिहासमै पहिलो पटक प्यालेस्टाइनले पनि अन्य १९३ देशकै सदस्यको हैसियतमा सम्बोधन गर्दै छ । प्यालेस्टाइनले पहिलो पटक सदस्यकै हैसियतमा उद्घाटन सत्रमा सहभागिता जनाएको छ । जसलाई राष्ट्रसंघको पहिलो वक्ता ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले बधाई दिए ।
महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा रुस–युक्रेन र गाजाको युद्धमा छिटोभन्दा छिटो युद्ध विराम गर्नुपर्ने उल्लेख गर्दै अन्य क्षेत्रमा भइरहेका आन्तरिक र बाह्य द्वन्द्वको पिडाबरे जानकारी गराए । उनले विश्वमा भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गइरहेको बताए । जलवायु परिवर्तनको समस्या समाधान र आर्टिफिसियल इन्टिलिजेन्स जस्तो प्राविधिक क्षेत्रमा सबै मिलेर काम गर्नु पर्ने प्रष्ट पारे ।






