रविलाई छ संगठित अपराधको मुद्दा चल्ने डर

काठमाडौं / गोर्खा मिडिया नेटवर्कद्वारा सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्व डीआईजी छविलाल जोशीको पक्राउले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गम्भीर हलचल मच्चिएको छ । पक्राउपछि जोशीको बयान भनेर आएको सूचनाहरुले सभापति रवि लामिछाने र अन्य नेताहरूलाई चासो र चिन्तामा पारिदिएको छ ।

छवि समातिएपछि काठमाडौंमा उपलब्ध नेताहरु आन्तरिक छलफल गरेर रवि लामिछाने पक्राउ परे प्रतिवाद गर्ने चेतावनी दिए । प्रतिवाद गर्नकै निम्ति राजधानीमा रहेका नेता-कार्यकर्तालाई आइतबार नै केन्द्रीय कार्यालय बोलाइएको थियो । तर मंगलबार फेसबुक लाइभमा भने लामिछानेले त्यसदिनका गतिविधिलाई डराएका रुपमा बुझ्न नहुने तर्क गरे ।

बरु उनले सरकारले संगठित अपराध र सहकारी ऐन अनुसार कारबाही चलाउने कोशिस गरिरहेको बताए । ‘हरेक प्रकरणमा मैले कानुनी बाटो गएर, अदालत पुगेर, प्रहरी पुगेर त्यसको प्रक्रियाबाट म बाहिर निस्केको छु’, उनले भने, ‘यहाँ पनि म जान्छु । मुद्दा चाहिँ के हो रु कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोशिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस् । मेरो यति मात्र बिन्ती छ ।’

लामिछानेले दशैँ, तिहारजस्ता पर्वको अवसर पारेर आफूलाई पक्राउ गरिनसक्ने अनुमान गरे । तर त्यसरी पक्राउ गरिए प्रतिवादमा उत्रने उनले चेतावनी पनि छ । ‘सरकारले अन्याय गर्‍यो भने नागरिकले नबचाए कसले बचाउने ?’, उनले भने, ‘हिजो पनि न्यायका निम्ति साथीहरूले सघाउनु भएको हो, आज पनि अन्याय गर्‍यो सरकारले भने चाहिँ दशैँ, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नुहोला ।’