गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन्। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरे ।
‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको विदितै छ। यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो,’ राष्ट्रपति पौडेलले भने, ‘दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।’

आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब)का रूपमा विकास हुन लागेकामा खुसी व्यक्त गर्दै उनले अब उपचारका लागि यसअघिजस्तो राजधानी काठमाडौं नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पुर्‍याउन आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।

क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधासम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गरेको स्मरण गर्दै उनले ०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रूपमा यो अस्पताल निर्माण भएको बताए ।

राष्ट्रपति पौडेलले भरतपुरस्थित राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा खुसी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल ०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । महामानव बिपी कोइरालाको स्मृतिमा ०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबिच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।

सो अस्पतालले गत आव ०८०/८१ मा ६ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ ।