धुलिखेलमा तीन दिने अन्तर्राष्ट्रिय बहुजातिय साहित्य सम्मेलन

धुलिखेल/काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वल्र्ड MELOW_ को संयुक्त आयोजनामा शुक्रबारबाट विश्वविद्यालयमा २५ औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन शुरु भएको छ ।

साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्नधाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहने अन्तर्राष्ट्रिय संस्था हो । प्रा.मञ्जु जाइड्को अध्यक्षतमा आयोजित ‘मेलो’ सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्ने लगायतका विषयमा छलफल हुनेछ । अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी दुई सय सहभागी छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन । सम्मेलनको उद्घाटनमा भारत दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.अम्मराज जोशीले सम्बोधन गरेका थिए ।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल रहेको छ । प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वनबाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ । सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिनेछन ।

सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ। यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्ध र विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ ।