पनौतीको सम्पदा क्षेत्र घुम्ने पर्यटकलाई निःशुल्क पासपोर्ट

ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा पर्यटकलाई सहजता प्रदान गर्ने उदेश्यले आजबाट पनौती हेरिटेज पासपोर्ट सञ्चालनमा ल्याइएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर पनौती पर्यटन विकास केन्द्रले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निःशुल्क पासपोर्ट वितरण शुभारम्भ गरेको हो । पनौतीका महत्वपुर्ण क्षेत्रहरु, जात्रापर्व, सम्पदा पदमार्ग नक्सा सहितको पासपोर्ट सुरुवात गरिएको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिए ।

पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि पासपोर्ट महत्वपुर्ण हुने विश्वास लिइएको अध्यक्ष कर्माचार्यले बताएका छन । उनले सम्पदा क्षेत्रमा रंगरोगान, पर्यटकको लागि निःशुल्क गाडी सञ्चालन, स्थानीयलाई सुकुल बनाउने तालिम लगायतका कार्यक्रम तय गरिएको पनि जानकारी दिएका छन् ।

पनौती पर्यटन विकास केन्द्रका विकास होराजुले विश्वसम्पदा सुचीमा सुचिकृतका लागि प्रास्तावित पनौती क्षेत्रलाई विश्वमा चिनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ ले थप सघाउने विश्वास लिएका छन् । प्राचिन सम्पदाहरुको विवरण सहितको नामाकरणले पनौतीको इतिहास उजागरमा सहयोग पुग्ने उनको भनाई थियो ।

पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठले क्युआर कोड सहितको पासपोर्टले पनौतीका महत्वपुर्ण क्षेत्रको भ्रमणमा सहयोग पुग्ने बताए । पासपोर्टमा पनौती बारेको छोटो विवरण सहित धार्मिक, ऐतिहासिक क्षेत्र, जात्रा पर्व बारे उल्लेख छ । पर्यटकको स्वागतमा पासपोर्ट दिने नयाँ अवधारणा ल्याइएको उनको भनाई छ । पासपोर्ट मायाको चिनोका रुपमा दिइनेछ । युरोपका पुराना सहर, इटाली,फ्रान्स लगायतका देशमा यो लागू भएको श्रेष्ठले बताए ।

पनौती पर्यटन विकास केन्द्रका संस्थापक सुरेश सैंजुले पनौतीलाई पर्यटको पहाडका रुपमा अथ्र्याएका छन् । पनौतीको बारेमा जति धेरै अध्ययन गर्यो त्यति रुची जाग्दै जाने उनले बताए । कार्यक्रममा भित्ते चित्र निर्माण गर्ने आयुष बज्राचार्य, पनौती लायकु धिमे खलः लगायतलाई सम्मान गरिएको थियो ।