विपी राजमार्गमा ३० घण्टा देखि अलपत्र यात्रु, काभ्रेमा १४ बेपत्ता, ६ को निधन
धुलिखेल/विहिबार साँझ देखि परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा क्षति हुने क्रम रोकिएको छैन । विशेषगरी रोशी र बेथान्चोक गाउँपालिकामा बाढी र पहिरोका कारण धेरै क्षति भएको छ । ३० घण्टादेखि सडकमा अलपत्र परेका विपी राजमार्गका यात्रुहरुलाई अझै उद्दार गर्न सकिएको छैन ।
शनिबार दिउसो १ बजेसम्म प्रहरीको तथ्यांक अनुसार ६ जनाको बाढी र पहिरोका कारण निधन भईसकेको छ भने बाढी र पहिरोमा परी १४ जना बेपत्ता छन् । १३ जनाको सकुशल उद्दार गरिएको छ । विपी राजमार्गको रोशी गाउँपालिका क्षेत्रका विभिन्न खण्डहरु पूर्ण रुपमा खण्डहर भएका छन् । सडकमा रहेका विद्यालय, नीजि घर तथा टहरा, खेतबारी, खोला किनारका सबै संरचना, डम्फु पार्क, औधोगिक ग्राम लगायतका सबै संरचना बगाएको छ । कतै पुलहरु समेत बगाएका कारण आवतजावतमा समस्या देखिएको छ । नागरिकहरु दैनिक जनजीवन कस्टकर बनेको छ । अरनिको राजमार्गको बनेपा खण्ड, धुलिखेल खावा खण्ड, लामिडाँडा, ५४ किलो लगायतका विभिन्न स्थानमा पहिरो गएको छ । राजमार्ग प्रवेश गर्ने सहायक मार्गहरु समेत अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण सबै सडकहरु अवरुद्ध छन् । एम्बुलेन्स समेत आवतजावत गर्न कठिन छ । पुरिएका र फसेकाहरुको उद्धारमा समेत कठिनाई भएको छ ।
हालसम्म साँगा, रोशी भुमेडाँडा, श्यामपाटी, खोपासी, पोखरीनारायणस्थान, ढुंखर्क, कुशादेवी, खावा, पनौती, बनेपा, काभ्रेभन्ज्याङ्ग, कानपुर, चौवास लगायतका स्थानमा नागरिकहरुको मृत्यु, बेपत्ता भएका छन् । सोहि स्थानमा अलपत्र परेका नागरिकहरुको उद्दारको कार्य भईरहेको छ । बनेपामा नेपाली सेनाले यात्रुहरुलाई उद्धार गरिरहेको छ भने विभिन्न स्थानमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले नागरिकहरुको उद्दारमा सहजिकरण गरिरहेका छन् ।






