रोशी गाउँपालिकामा बाढी-पहिरोबाट ५ जनाको मृत्यु

धुलिखेल/अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले नार्केको बजार नै बगाएको छ।

बाढी—पहिरोमा परी गाउँपालिकामा ५ जनाको मृत्यु भएको जानकारी आएको विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीले जानकारी दिए।

अधिकारीकाअनुसार रोशी खोलाको बाढीले नार्केका १० पक्की घर बगाएको छ। बिहानपख आएको बाढीले उक्त घरहरू बगाएको उनले बताए।

‘अहिलेसम्म गाउँपालिकाभरिमा पाँच जनाको मृत्यु भएको जानकारी आएको छ। टेलिफोन, विद्युत अवरूद्ध हुँदा जानकारी पाउन सकेका छैनौं। खोज र उद्धार कताकता चाहिने हो भनेर समन्वय गर्न नै गाह्रो भइरहेको छ,’ अधिकारीले भने।

उनकाअनुसार धुलिखेल—बर्दिबास जोड्ने बिपी राजमार्ग गाउँपालिकाभरिमा चार ठाउँमा बगाएको छ। नेपालथोक, तल्लो कटुञ्जे, चिउरीबास लगायतका ठाउँमा राजमार्ग बगाएको छ।