काभ्रेको रोशी गएको हेलिकप्टर फर्कियो, ठूलो जनधनको क्षति भएको आशंका

काभ्रेको रोशी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक सूचना प्रहरीलाई आएको छ। काभ्रेकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार विद्युत् र सञ्चार अवरुद्ध हुँदा क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।

केही मानिसहरू पहिरोमा फसिरहेको सूचना पाएलगत्तै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको थियो। यद्यपि, मौसम खराब भएपछि हेलिकप्टर पनि ल्याण्ड हुन नसकेको एसपी खड्काले बताइन्।

‘एक हिसाबले रोशी सम्पर्कविहीनजस्तै बनेको छ,’ एसपी खड्काले शनिबार साँझ भनिन्, ‘हामीले पनि त्यहाँबाट यकिन जानकारी पाउन सकेका छैनौँ। ठाउँठाउँमा पहिरो गएको र जनधनको क्षति भएको खबर आएको छ। तर अहिले हामी त्यहाँ पुग्नसक्ने अवस्था छैन।’

शनिबार दिउँसो सामाजिक सञ्जालमा भेटिएका केही भिडिओहरूमा सोही गाउँपालिकामा पर्ने नार्के बजारका केही घरहरू बाढीले बगाएको देखिन्छ।

उक्त घरहरूमा भएका क्षतिका विवरणहरूबारे कुनै जानकारी आएको छैन। केही मानवीय क्षति भएको खबर प्रहरीले पाएको भएपनि यकिन विवरण भने जुटाउन सकस भएको छ।

निरन्तरको वर्षासँगै आएको विपदका घटनामा परि काभ्रेमा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पुरुष ६ जना र महिला ४ जना रहेका छन् । जसमा बालक २ र बालिका १ जना रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हालसम्म बाढीपहिरोका कारण धुलिखेलमा २ जना, बनेपा नगरपालिकामा ३ जना, पनौतीमा २ जना, नमोवुद्धमा २ र भुम्लुमा १ जनाको ज्यान गएको छ । विपदका घटनामा परेर जिल्लामा १६ जना घाइते भएका छन् भने १३ जना वेपत्ता भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर २ डडेनपाखामा दुई घर पहिरोले पुरिएको छ । घर भित्र ९ जना रहेको जानकारी प्राप्त भएको छ ।