विपद्को बेला हातेमालो गरौं- प्रधानमन्त्री ओली

काठमाडौं/संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तयारीमा छन् । स्वदेश फर्कने तयारीमा रहेका प्रधानमन्त्री ओलीले विपद्को समयमा हातेमालो गर्न सबैलाई अनुरोध गरेका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका ओली १४ गते स्वदेश फर्किने पूर्वतालिका रहेको थियो । बाढीपहिरोको विपत्तिमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गरेका छन् ।

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए । त्यसअघि र पछि उनले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गरेका थिए ।

अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०२ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाले ज्यान गुमाएका छन् ।