बनेपा, धुलिखेल र पनौती लगायत ग्रामिण भेगमा खानेपानीको हाहाकार

पानी उमालेर मात्रै पिउन स्वास्थ्यकर्मीहरुको सर्वसाधारणलाई अनुरोध

बनेपा/अविरल वर्षात सँगै बाढी र पहिरोका कारण पानीका मुहानहरु पूर्ण रुपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल, ब्यापारीक शहर बनेपा र पनौती लगायतका ग्रामिण क्षेत्रका पालिकाहरुमा खानेपानी अभाव हुन थालेको छ ।


खानेपानी अभावसँगै पानीजन्य रोगहरु निम्तिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले उमालेर मात्रै पानी पिउन अनुरोध गरेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले नागरिकहरुलाई खानेपानी उमालेर मात्रै पिउन अनुरोध गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल र बनेपामा ल्याएको खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको छ । जसका कारण पानी नियमित हुन सकेको छैन ।

नेपाल खानेपानी संस्थान बनेपा शाखा अन्र्तगत बनेपा क्षेत्र र पनौती क्षेत्रको मुहान तथा पाईपलाईन एवं धुलिखेल नगरपालिकामा विगत लामो समयदेखी रोशीखोलाबाट आईरहेको पानीको मुहान र पाईपलाईनमा क्षती भएका कारण खानेपानीको हाहाकार भएको हो । नेपाल खानेपानी संस्थान काभ्रेका सूचना अधिकारी होमप्रसाद चौलागाईका अनुसार बनेपामा ल्याईरहेको दुबै मुहान शशिपानी र एकीकृत खानेपानी तथा मिनरल आयोजना समेत बन्द भएको छ ।


धुलिखेल नगरपालिकामा भुमेडाँडाबाट ल्याएको खानेपानीको मुहानमा क्षती भएकाले आवश्यक ममर्तकार्य सम्पन्न नहुन्जेलखानेपानी आपुर्ती कार्य प्रभावित हुने खानेपानी संस्थान र समितिले जानकारी गराएको छ । यसवाट ग्राहाक वर्गमा पर्न गएको असुविधा प्रति नेपाल खानेपानी संस्थानले क्षमा मागेको छ । शहरी क्षेत्रका अलावा रोशी, बेथान्चोक तथा बाढी पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार शुरु भएको छ ।