बाढी पहिरोको विपदः पनौतीमा मात्रै १९ जनाले ज्यान गुमाए
पनौती/बाढी र पहिरोको विपदमा परी पनौती नगरपालिकामा १९ जनाले ज्यान गुमाएका छन् । अझै केहि सम्पर्कमा आएका छैनन । धेरै जनधनको क्षति पुगेको छ भने पशु चौपाया पनि पुरिएका छन् । यस्तो विपत्त २०२८ साल पछि आएको स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन् ।
पनौती नगरपालिकाको खानी क्षेत्र मानिएको वडा नम्वर १२ मा सबै भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् । फार्म हाउस संचालन गरिरहेका जर्मन नागरिक सहित ६ जनाले ज्यान गुमाएका छन् । गम्भिर घाईते दुईजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
पुर्व नगर प्रमुख भिम न्यौपानेका अनुसार घाईतेहरुको उद्दार र बेपत्ताहरुको खोजी कार्यमा स्थानीयहरुको सक्रियता रहेको छ । त्यस्तै पनौती वडा नम्वर १ मा ३ जना, वडा नम्वर २ मा ३ जना, वडा नम्वर ३ मा ३ जना, वडा नम्वर ४ मा १ जना, वडा नम्वर ९ मा १ जना, वडा नम्वर ११ मा ४ जनाले ज्यान गुमाएका छन् । केहि बेपत्ता छन् ।
खानी क्षेत्र पनौती १२ भुमेडाँडा कलाँती रोशीमा धेरै जनधनको क्षति भएको छ । खानी र क्रसरका कारण बस्ति नै बगरमा परिणत भएको छ ।






